logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जबरजस्ती करणीसम्बन्धीको कानुन संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

    जबरजस्ती करणीसम्बन्धीको कानुन संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

    546
    Shares
    जबरजस्ती करणीसम्बन्धीको कानुन संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

    काठमाडौँ । सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रतिशोधपूर्ण रूपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए ।

    बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले जबरजस्ती करणी र लागुऔषध सम्बन्धी कानुनलाई परिवर्तन गर्नुपर्ने बताए । उनले सो कानुनले निर्दोष पुरुषहरू पीडित हुनुपर्ने अवस्था आएको भन्दै सुधार गर्नुपर्ने बताए ।

    उनले भने, ‘जबरजस्ती करणी र लागुऔषध सम्बन्धी कानुन परिवर्तन गर्नुपर्ने देखिन्छ । मुलुकी संहिताले गरेको व्यवस्था अनुसार त पुरुषहरू अझ पीडित होलान् कि भन्ने खालको अवस्था पनि समाजमा सिर्जना भएको छ । त्यसकारण यसलाई परिमार्जन गर्नुपर्छ । यसलाई सुधार गर्नुपर्छ । प्रहरी प्रशासनबाट गरिने अनुसन्धानको दायरालाई अझ व्यवस्थित र निष्पक्ष कसरी बनाउने भन्नेमा पनि विचार गर्नुपर्छ ।’

    नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले जबरजस्ती करणी सम्बन्धी कानुनमा सुधार गर्नुपर्ने बताए । यो विषयलाई केवल पुरुषहरूको मात्रै विषय नबनाएर सबैको सामूहिक आवाज बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘कानुन सुधार गर्ने कुराहरूमा जबरजस्ती करणी सम्बन्धी कानुन, बन्दी गृहमा राखिएका बालबालिकाको सबैको पीडा सुन्दाखेरी त्यसमा केही सुधार ल्याउनुपर्ने हुन्छ । यो सबैको सामूहिक आवाज पनि बन्नुपर्छ । कानुनलाई परिमार्जन गर्नैपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्‍यो ।’

    नेकपा(एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्माले कानुनमा सुधार गरेर १५ वर्ष मुनिकालाई मात्रै बालबालिकाको रूपमा परिभाषित गर्नुपर्ने धारणा राखे ।

    एमालेकी सांसद प्रतीक्षा तिवारीले जबरजस्ती करणीको मुद्दालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताइन् । उनले भनिन्, ‘जबरजस्ती करणीका मुद्दाहरूलाई हेर्ने तरिका फरक हुनुपर्छ । उखान नै छ, मिल्दाखेरी चमत्कार नै चमत्कार हुने । कुरो नमिले पछि बलात्कार भनेर जान्छ ।’

    जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले जबरजस्ती करणी सम्बन्धी कानुनलाई तत्काल संशोधन गर्नुपर्ने बताइन् । उनले ६० प्रतिशत युवाहरू सोही मुद्दाका कारण थुनामा रहेका भन्दै ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास र समृद्धि हुन नसक्ने बताइन् । उनले भनिन्, ‘ जबरजस्ती करणी सम्बन्धी कानुनलाई तत्काल संशोधन गर्नुपर्छ । जसको कारणले ६० प्रतिशत युवाहरू थुनामा छन् । देशको ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास, समृद्धिको कुरा गर्छौ । जबरजस्ती करणीको कानुनमा तत्काल संशोधनमा जानुपर्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जबरजस्ती करणीको परिभाषालाई अझ स्पष्ट पार्नुपर्ने बताइन् । उनले जबरजस्ती करणी होइन भने के भनेर परिभाषित गर्ने हो त्यसमा स्पष्ट हुनुपर्ने बताइन् ।

    नेपाली कांग्रेसकी सांसद नागिना यादवले राजनीतिक प्रतिशोधका कारण निर्दोष व्यक्तिलाई फसाएर कारागार पुर्‍याइने गरेको बताइन् । उनले जबरजस्ती करणीको मुद्दाको पनि गलत प्रयोग भएको भन्दै यस प्रकारको मुद्दामा डिएनए परीक्षण हुनुपर्ने बताइन् । उनले भने,‘जेलमा बढी अभियुक्तहरू हुनु बढी राजनीतिक प्रतिशोध देखियो । राजनीतिक प्रतिशोधले गर्दाखेरी निर्दोष व्यक्तिलाई पनि फसाइएको छ । अनुसन्धान राम्रो भएको छैन ।’

    सांसदहरूले देशभरका कारागार र बाल सुधारगृहहरुको अवस्था सुधार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend