काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताएका छन् । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री लामाले वागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए । उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री लामाले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न वागमती प्रदेश सरकार तयार छ । वागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ । त्यो लगानी फजुलमा गरेको हामीले देख्यौँ । मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर टुरिजम आउँदैन । अर्को डाँडामा टावर बनाएको छ ।
टावर कहाँ बनाउने, मन्दिरहरु कहाँ कहाँ बनाउने भन्नेकुरा फरक छ । हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टहरुलाई आकर्षित गर्ने कम्तिमा पनि २–३ दिन घुम्ने ठाउँ चाहिएयो नि । पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछ कोही ।
हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं । त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं । व्यवसायीको समस्या हामीलाई थाहा छ । ’
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।