काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार ९४.५३ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २८ सय ६०.६१ अंकमा पुगेको छ । आइतबार सेयर बजार बढ्नुका साथै कारोबार रकमले पनि नयाँ कीर्तिमानी कायम गरेको छ ।
यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता किनबेच भएको छ । यो रकम हालसम्मकै सबैभन्दा बढी कारोबार हो ।
संस्थागत र ठूला लगानीकर्ताले बजारमा लगानी बढाउँदा कारोबार रकममा कीर्तिमानी कायम भएको हो । बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएकाले नेप्सेले पछिल्लो समय वृद्धि हासिल गर्न सफल भएको छ ।
नेप्से सूचक पनि ३० महिना यताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ माघ ३ गते सेयर बजार २८ सय ७६. ७४ विन्दुमा पुगेर बन्द भएको थियो ।
२ सय २५ कम्पनीको सेयर मूल्य बढ्दा १५ वटाको घटेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
आइतबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी सेयर कारोबार भएको छ । हिमालयन रिको १ अर्ब ५२ करोड, शिवम्को १ अर्ब १६ करोड ६४ लाख र निफ्राको ६८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ ।
म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ ।
कारोबारको प्रवृत्ति हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाएको छ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंकहरुसँग अहिले ५ अर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य पुँजी छ । बैंक ब्याजदर निरन्तर घट्दो क्रममा छ ।
सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । नेपाल राष्ट्र बैंकले पनि विस्तारै नीतिगत अवरोधहरु हटाउँदै गएको छ । ३ वर्ष घटेको बजार असारको दोस्रो सातादेखि वृद्धिको बाटोमा लागेको हो । प्रतिकूल अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेको कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यो पनि :