काठमाडौं । सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्ड तोड्दै सोमबार हालसम्मकै सबैभन्दा बढी सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सोमबार बजारमा हरियाली छाउँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता किनबेच भएको थियो । कारोबारसँगै नेप्से सूचक पनि ७०.८१ अंक बढेर २९ सय ३१ अंक पुगेको छ ।
नेप्से सूचक पनि ३० महिना यताकै उच्च विन्दुमा बन्द भएको छ । यसअघि मार्केट २०७८ माघ ३ गते २८७६.७४ विन्दुमा बन्द भएको थियो । संस्थागत र ठूला लगानीकर्ताले बजारमा लगानी बढाउँदा कारोबार रकम उच्च भएको हो ।
सेयर बजार सूचकले सोमबार २९ सय अंकलाई पनि सजिलै पार गरेको छ । सूचकसहित कारोबार रकममा पनि झनै उत्साह देखिएको छ । बिक्रेताभन्दा क्रेताहरुको संख्या ह्वात्तै बढेपछि बजारले नयाँ उचाई लिएको हो । बजार निरन्तर बढ्न थालेपछि नयाँ लगानीकर्ता हौँसिएको देखिन्छ ।
सोमबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटाको घटेको छ ।
बजार बढ्दा ७ वटा कम्पनीको सेयर मूल्यमा सरकारात्मक सर्किट लागेको छ । यसरी सकरात्मक सर्किट लाग्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगंगा हाइड्रो, शु्भम पावर र भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।सोमबार कुथेली बकरी स्मलको सेयर मूल्य १० प्रतिशत घटेको छ ।
पछिल्लो सयम सेयर बजारमा तीनवटा कम्पनीको सबैभन्दा बढी सेयर किनबेच हुँदै आएको छ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी कारोबार भइरहेको छ । हिमालयनको १ अर्ब २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
हिमालयको सेयर मूल्य बढेर १ हजार रुपैयाँ पुगेको छ । यस्तै शिमव सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल फाइनान्सको पनि ८४ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कुल बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार रुपैयाँ पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशत घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशत बढेको छ ।
सोमबारको ट्रेन्ड हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाउँछ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ । यसबीचमा सूचीकृत कम्पनीहरुले नाफाको ग्राफ बढाउँदै लगेका छन् । प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर अहिले सेयर बजार प्रति सकरात्मक देखिएकाले सकरात्मक असर परेको लगानीकर्ताको भनाई छ ।
यो पनि :