logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • १०२ मेगावाट मध्यभोटेकोसी बन्यो, कहिलेदेखि बिजुली उत्पादन हुन्छ थाहा छैन

    १०२ मेगावाट मध्यभोटेकोसी बन्यो, कहिलेदेखि बिजुली उत्पादन हुन्छ थाहा छैन

    658
    Shares
    १०२ मेगावाट मध्यभोटेकोसी बन्यो, कहिलेदेखि बिजुली उत्पादन हुन्छ थाहा छैन

    काठमाडौं । सार्वजनिक निजी लगानीमा बनेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको निर्माण सकिएको छ । आयोजना सम्पन्न भए पनि बिजुली उत्पादन कहिले हुन्छ ? अझै अनिश्चित छ । कहिलेदेखि आयोजना सञ्चालन हुन्छ भनेर मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले भन्न सकेको छैन् ।

    आयोजनाको ‘ड्राइ टेस्ट’ परीक्षण सकेर ‘वेट टेस्ट’ का क्रममा सुरुङको मध्य भागबाट पानी चुहिएपछि अहिले मर्मतको काम भइरहेको मध्यभोटेकोसी जलविद्युतले जनाएको छ । अहिले चुहिएको ठाउँमा मर्मत जारी रहेको र छिट्टै ‘वेट टेस्ट’ गर्ने जानकारी कम्पनीले दिएको छ । मर्मतको क्रममा रहेकाले आयोजनाबाट बिजुली उत्पादन कहिले हुने हो अनिश्चित देखिएको छ ।

    आयोजनामा देखिएको अर्को समस्या भनेको स्थानीयको अवरोध हो । स्थानीयबासिन्दाले विभिन्न माग राखी २ किलोमिटर तार तान्ने काममा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोध अझै हटेको छैन् ।

    विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणले बनाएको २२० केभी बाह्रबीसे सवस्टेशनसम्म जोडन आयोजनाले ४ किलोमिटर २२० केभी सिङल सर्किट प्रसारण लाइन बनाउन थालेको हो । २ किलोमिटर तार तान्ने काम सकिएको छ । सहजीकरणका लागि काम भइरहेको कम्पनीले जनाएको छ ।

    यसअघि आयोजनाको बाँध, सुरुङ र विद्युतगृहलगायत सबै पूर्वाधारको काम सकिएपछि उत्पादनको तयारीका क्रममा आयोजनाको सबै संरचनामा ‘ड्राइ र वेट टेस्ट’ सुरु गरेको थियो ।

    स्थानीय चाकु बजारको बाँधबाट प्रवेश गराइएको पानी पेनस्टक पाइपमार्फत आयोजनाको बाह्रबिसेस्थित जम्बुमा निर्माण भएको विद्युतगृहमा पठाइनेछ ।

    नेपाल विद्युत प्राधिकरणले बाह्रबिसेमा सबस्टेसन समयभित्र बनाउने अनुमानका आधारमा बिजुली उत्पादनको नयाँ कार्यतालिका तयार पारिएको थियो ।

    यसअघि आयोजनाको समय लम्बिएर मंसिर मसान्त पुर्याइएको थियो । आयोजनाको सबै काम सकिएको राजधानीको लप्सीफेदीमा प्रसारण लाइन बनाउन अवरोध आएपछि समस्या आएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली राजधानीको लप्सीफेदीस्थित प्रसारण लाइनमा जोड्ने योजना छ ।

    यसअघि आयोजनाबाट असोजदेखि बिजुली उत्पादनको नयाँ कार्यतालिका बनेको थियो । त्यसअघि साउन १५ बाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाको काम नसकिँदा उत्पादन पछि धकेलिँदै गएको छ ।

    २०७९ पुसभित्र सक्ने लक्ष्य राखिएकोमा म्याद थपेर असारमा पुर्याइएको थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा लागत अनुमानभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ ।

    कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुगेको छ ।

    निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । मध्य भोटेकोसी आयोजनाले बिजुली बेचेर वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गर्ने निर्माण कम्पनीले जनाएको छ । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली विद्युत प्राधिकरणलाई बेचेर उक्त रकम आम्दानी गर्ने भएको हो ।

    नदी प्रवाही (आरओआर) आयोजनाबाट सुक्खायाममा ८ करोड ३७ लाख र बर्खामा ४५ करोड ४५ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

    २०७१ साउनको जुरे पहिरो, ०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्ष असारमा निर्माण स्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढीपहिरो तथा कोभिड–१९ महामारीको चपेटामा आयोजना परेको थियो ।

    प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको थियो ।

    आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले सम्पन्न गरेको छ ।

    आयोजनाको हेड २ सय ३५ मिटर अग्लो छ । सुरुङको लम्बाइ सात किलोमिटर छ । मध्य भोटेकोसी कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । यसमा ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा छ ।

    संस्थापक सेयरधनीमा विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत हिस्सा छ ।

    ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहतर्फ सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ .५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत स्वामित्व छ ।

    आम्दानी नभएपछि कम्पनी गत आर्थिक वर्षमा २ करोड नोक्सानमा छ । कम्पनीको आम्दानी नभइ खर्च मात्र भइरहेकाले प्रति सेयर आम्दानी ०.३५ पैसा, सेयरको किताबी मूल्य घटेर ९३.१० पैसा र कूल सम्पत्ति मूल्य ३ सय ३३ रुपैयाँ छ ।

    यो पनि : 

    १०२ मेगावाट मध्यभोटेकोसी जलविद्युतको परीक्षण सुरु, तयार छैन प्रसारण लाइन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend