न्यूयोर्क । अमेरिकास्थित नेपाली मूलका लागि सर्वाधिक पुरस्कार राशीका फुटबल र भलिबल खेलहरु घोषणा गरिएको छ । इन्ट्रा—नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक वर्ष नेपाली मूलका उत्तर अमेरिका(क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवा युवती एवं खेलप्रेमीहरुका लागि आयोजना गर्ने इन्ट्रा कप फुटबल(सकर) तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो सप्ताह अन्त्यसम्म अमेरिकाका दुई राज्यहरुमा हुने भएका हुन् ।
नेपालीहरुका लागि खेल महोत्सव नै हुने यी दुई खेलको घोषणा गर्दै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी समुदायको हुनै पर्ने अनिवार्य व्यवस्था गरिएको बताए । यसमा अमेरिका र क्यानडा निवासी नेपालीभाषी खेलाडीहरु समावेश हुनेछन् ।
अमेरिकी समयअनुसार, साउन २९ गते सोमबार आयोजित एक पत्रकार सम्मेलनमा इन्ट्र कप फुटबल प्रतियोगिता सन् २०२४ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा र इन्ट्र कप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा गर्ने जानकारी दिइयो । दुबै खेलहरुमा पुरुष र महिलातर्फका छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ ।
पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलरले पुरस्कृत गरिने जानकारी दिंदै अध्यक्ष अधिकारीले मातृ—पितृभूमिभन्दा टाढा रहे पनि आफ्नो समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने, नेपाली युवाहरुमा खेलको भावना विकास गर्ने, आपसमा स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्टता हासिल गर्ने, सामाजिक अनुशासन एवं खेल अनुशासनको माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निमार्ण गर्ने तथा भावी पुस्तालाईसमेत खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने अभिप्रायले यी खेलहरु आयोजना गरिएको बताए ।
फाउण्डेसनका अनुसार, पुरुष फुटबल (सकर) सिनियर युथतर्फ (३० बर्षदेखि माथि) विजेताले १० हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल (सकर) भेट्रान्सतर्फ (४० वर्षदेखि माथि) विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । महिलातर्फ विजेताले ८ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
तीनवटै क्याटगोरीका प्रतियोगिताका बिजेताले १० तोला सुनसहितको रनिङ गोल्ड कप पनि जित्नेछन् । रनिङ गोल्ड कपको पूर्ण स्वामित्वका लागि तीन पटक लगातार खेल जित्नुपर्ने छ । फाउण्डेशनको सहकार्यमा पीस जोन क्लबले १६ बर्षमुनिका किशोर किशोरी खेलाडीका लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने भएको छ ।
समाजमा स्वच्छ प्रतिस्पर्धाको भावना विकास भए जीवनका हरेक मोडहरुमा आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने क्षमतावान व्यक्तित्व निर्माण गर्न सकिने विश्वासका साथ खेलहरु आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।
फुटबल खेलहरु अमेरिकाको ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्पेक्समा अगष्ट ३० तारिकदेखि हुने छन् । यो खेलको समापन सेप्टेम्बर २ तारिक सोही स्थानमा हुनेछ ।
भलिबलतर्फको पुरुष तथा महिलातर्फका दुबै खेल पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्पोकी नूक स्पोर्ट्स कम्पेक्समा सेप्टेम्बर १३ देखि १५ तारिकसम्म हुने छ । फाउण्डेसनका अनुसार, भलिबलका पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले ८ हजार डलर एवं महिलातर्फ विजेता टिमले ८ हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले ४ वर्षदेखि यी खेलहरु हरेक वर्ष गर्दै आएको छ ।