धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरे ।
५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे ।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी तटस्थ बसे भने बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।
साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहको यो दोस्रो कार्यकाल हो ।