logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल

    बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल

    1.1K
    Shares
    बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल

    काठमाडौं । नेपालमा सञ्चालित दुरसञ्चार सेवा प्रदायकहरुको नाफा खुम्चिन थालेको छ । एक समयमा राम्रो आम्दानी गरेका दुरसञ्चार कम्पनीहरुको नाफा विस्तारै खुम्चिँदै गएको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।

    सरकारको बहुमत स्वामित्व भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा लिमिटेड दुबै कम्पनीको नाफामा गिरावट आएको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको हो ।

    गत आर्थिक वर्षमा नेपाल टेलिकमको खुदनाफा १९.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको खुदनाफा ७ अर्ब ९२ करोड २० लाख रुपैयाँ थियो ।

    एक वर्षको अवधिमा टेलिकमको नाफा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ घटेको बिहीबार सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । टेलिकमको खुदआम्दानी ५.२५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आम्दानी ६.२८ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको कूल आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा नेपाल टेलिकमको कूल आम्दानी २ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।

    असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ ।

    त्यसैगरी, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।

    टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ । टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

    यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ५ सय ५२ रुपैयाँ ४३ पैसा रहेको छ ।

    कम्पनीले सेयरधनीलाई ३६ रुपैयाँ ७७ पैसा मात्र लाभांश दिने अवस्था देखिएको छ । यसअघि कम्पनीले ५५ रुपैयाँसम्म नगद लाभांश दिएको थियो ।

    यस्तै अर्को मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा पनि गिरावट आएको छ । पछिल्ला वर्षमा टेलिकम कम्पनीहरुको भ्वाइस कलबाट हुने आम्दानीमा निरन्तर गिरावट आएको छ ।

    डाटाबाट हुने आम्दानीमा सुधार देखिए पनि व्यापार घट्दै गएको एनसेलको वित्तीय विवरणबाट देखिएको छ । एनसेलले दिएको जानकारीअनुसार दक्षिण एसियाका बंगलादेश र श्रीलंकामा टेलिकम बिजनेस बढेका बेला नेपालमा २५ प्रतिशत घटेको छ ।

    आम्दानी र नाफा खुम्चिरहेका बेला सेवा विस्तारमा तीन गुणासम्म लगानी गरेको एनसेलले जनाएको छ । २०२३ सेप्टेम्बरमा सार्वजनिक गरिएको वित्तीय विवरणमा २७ अर्ब २२ करोड रुपैयाँ ऋण रहेको एनसेलले जनाएको छ । ऋण भएका कारण एनसेलले एकैपटक २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाउन नसक्ने भनेको छ ।

    गत वर्ष सन २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

    २०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको छ ।

     

    २०२१ मा ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियो । सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलकोे कारोबार २०२३ मा आइपुग्दा घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ ।

    पाँच वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ । २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

    कम्पनीको जिएसएमबाट हुने आम्दानी सन २०२३ मा ४२ प्रतिशत, २०२२ मा ५४ प्रतिशत र २०२१ मा ६१ प्रतिशत घटेको कम्पनीले जनाएको छ ।

    एनसेलले लगानीकर्तालाई सतप्रतिशतसम्म लाभांश दिँदै आएको जनाएको छ । पछिल्ला ३ वर्षमा औसत ९४ प्रतिशत लाभांश लगानीकर्तालाई दिएको छ । २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको एनसेलले जनाएको छ ।

    २० अर्बले टेलिकम र एनसेल डुबाउँदै छ : भेषराज कंडेल

    नेपालमा टेलिकमको भविष्य नभएको होइन । ऐन पनि बाधक बन्दा टेलिकम क्षेत्रमा नयाँ लगानी आउन नसकेको हो । २० अर्ब रुपैयाँको घाँडोले टेलिकम कम्पनीहरुलाई अप्ठेरोमा पारिरहेको छ । पाँच वर्षमा २० अर्ब तिर्न सक्ने भनेको एनसेल र नेपाल टेलिकम भन्दा अरु भएनन् । बजार सिमित हुँदा आम्दानी घट्दै गएको छ । त्यसकारण टेलिकम क्षेत्र विस्तारमा सबैभन्दा ठुलो तगारो अहिलेको ऐन नै हो ।

    २० अर्ब रुपैयाँ शुल्क एक पटक मात्र तिरे हुने व्यवस्था गर्नुपर्ने थियो । अब बुज्रुकहरुले धेरै बुझेर प्रत्येक ५ वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरे । २० अर्ब रुपैयाँको घाँडो रहिरहने हो भने अब नेपालको टेलिकम क्षेत्रमा अर्को कम्पनी आउने सम्भावना छैन । यही अवस्था रहे एनसेल र टेलिकम पनि कतिन्जेल चल्छन थाहा छैन् ।

    त्यसकारण त्यो घाँडो नहटाइकन अरु कम्पनी आउने सम्भावना देखिन्दैन । पहिले अरु देशमा पनि यस्तै थियो पछि त्यसलाई परिमार्जन गरेर चल्न सक्ने वातावरण सिर्जना गरे । त्यसमा संशोधन हुने प्रयास भईराखेको छ ।

    ऐन ल्याउन सफल भएमा यो सेक्टर राम्रोसँग चल्छ, यदी ल्याउन सकिएन भने घुमी घुमी रुम्जाटार त्यही नेपाल टेलिकम मात्रै रहने अवस्था आउने देखिनछ । नेपालमा मात्र हैन संसारभरि नै टेलिकमको बिजनेस घट्दै गएको छ ।

    संसारभरि टेलिकम अपरेटरहरु एकदमै कठिन अवस्थामा छन । उनीहरुले नयाँ नयाँ बाटाहरु खोज्न थालेका छन् । यदी गरेनन भने टेलिकम अपरेटरहरु कमजोर हुँदै जान्छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend