logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • थामे खोलामा आएको भीषण बाढीबारे अध्ययन गर्न भोलि विज्ञसहितको टोली जाने

    थामे खोलामा आएको भीषण बाढीबारे अध्ययन गर्न भोलि विज्ञसहितको टोली जाने

    1K
    Shares
    थामे खोलामा आएको भीषण बाढीबारे अध्ययन गर्न भोलि विज्ञसहितको टोली जाने

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा आज दिउँसो आएको भीषण बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यहाँ जाने भएको छ ।

    राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।

    शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ । बाढी आएको स्थानमा जाने विज्ञसहितको टोलीले बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

    खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् ।

    प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।

    वर्षातविना नै कोशीमा आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend