काठमाडौं । लगातार नयाँ रेकड कायम गर्दै आएको सेयर बजारमा साताको पहिलो दिन आइतबार ब्रेक लागेको छ । आइतबार सेयर बजार ३४.४७ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९ सय ६६.३३ अंकमा झरेको छ । यस दिन सेयर बजार करेक्सन भएको छ । बिहीबार नेप्से सूचक र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेका बेला आइतबार सेलिङ प्रेसरको असर बजारमा देखिएको छ ।
आइतबार बजार खुलेका बेला नेप्सेमा बढोत्तरी भएको थियो । तर, अन्तिम समयमा आएर सम्हालिन सकेन र बजारमा सेलिङ प्रेसर देखियो । सस्तो मूल्यमा किनेको सेयरको छोटो समयमा राम्रो नाफा भएको मौकामा कारोबारीहरुले नाफा बुक गर्दा अन्तिम अन्तिम समयमा बजारमा सेयरको सेलिङ प्रेसर देखिएको हो ।
यस दिन २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बिहीबार सेयर कारोबार रकम बढेर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता किनबेच भएको थियो ।
बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको छ । विदेशमा रहेका नेपालीले समेत सेयर कारोबारमा बढी चासो देखाउन थालेका छन् । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । ३ सय ३० कम्पनीको सेयर कारोबार भएको छ ।
आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९७ कम्पनीको घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मल्टिपर्पोस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको हो । यस्तै नेपाल फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
यस दिन सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किनबेच भएको छ ।
आइतबार नेपाल रि–इन्स्योरेन्सको ८२ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपी पावर कम्पनीको ७८ करोड ७६ लाख र कुमारी बैंकको ६५ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आइतबार ट्रेन्ड हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाउँछ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ । यसबीचमा सूचीकृत कम्पनीहरुले नाफाको ग्राफ बढाउँदै लगेका छन् ।
यो पनि :
सेयर कारोबार रकमले तोड्यो रेकर्ड, नेप्से सूचकले गर्यो ३ हजार पार