logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, निर्यात ९४१ मेगावाट पुग्ने

    भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, निर्यात ९४१ मेगावाट पुग्ने

    966
    Shares
    भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, निर्यात ९४१ मेगावाट पुग्ने

    काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपालका थप १२ जलविद्युत् आयोजनाबाट विद्युत् निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

    नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएकोछ । प्राधिकरणले अहिले १६ आयोजनाहरुबाट ६ सय ९० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । नयाँ स्वीकृतिसँगै अब बढेर विभिन्न २८ आयोजना पुग्ने छ । यि आयोजनाबाट कूल ९ सय ४१ मेगावाट बिजुली भारतमा निर्यात गर्न लागेको हो ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १ सय २५.८९ मेगावाट र बिहारलाई १ सय २५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

    १० जलविद्युत आयोजनाहरुबाट उत्पादित १ सय २५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १ सय २५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने भएको छ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

    ११.६४ मेगावाटको दोर्दी– १, १४.४५ मेगावाटको मायाखोला, ९.९९ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १ सय २५ मेगावाट विद्युत् बिहारमा निर्यात हुनेछ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिने भएको छ ।

    यस्तै ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १ सय २५.८९ मेगावाट थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिने भएको छ ।

    नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरुलाई बिक्री गरिने विद्युत्को परिमाण ३ सय ६० मेगावाट पुगेको छ ।

    आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १ सय ९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले बेहेर्नु पर्ने छैन ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ ।

    भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।

    गत आर्थिक वर्षदेखि नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको छ । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको थियो ।

    सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घटेपछि माग पुरा गर्न प्राधिकरणले भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो ।

    गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ । जसले गर्दा गत आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम विद्युत् निर्यात भइरहेको छ ।

    विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रुपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो । २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो ।

    नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली खरिदबिक्रीको दीर्घकालीन सम्झौता भएको छ । यस्तै नेपालले भारत हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता भएको छ । बंगलादेशको पछिल्लो राजनीतिक घटना क्रमका कारण स्थगित भएको छ ।

    यस्तै भारतले खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपिओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। यसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने छ ।

    भारतले चिनियाँ लगानी, चिनियाँ ठेकेदारले बनाएको आयोजनाको बिजुली नकिन्ने भएको छ । भारतले ४५६ मेगवाटको माथिल्लो तामाकोसी आयोजनाको बिजुली किन्न मानेको छैन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend