logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ओलीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै छन्: पुन

    ओलीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै छन्: पुन

    504
    Shares
    ओलीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै छन्: पुन

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका छन् ।

    पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरु हाँस्ने गरेको बताए ।

    ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई राखेर यसो भनेको सुन्दा मानिसहरु हाँस्ने गर्छन् । मान्छेहरु भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए ।

    उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे । माओवादी सशस्त्र जनयुद्ध, ०६२/०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरुको अनुमान पछिल्ला घटनाक्रमहरुले गलत साबित भएको पुनले बताए ।

    ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं । हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरुलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं । खबरदारी गर्छौं’, पुनले भने । पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरुले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend