काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंकसहित तीनवटा अवार्ड जितेको छ । इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ अन्तर्गत नेपालबाट बैंकले अवार्ड जितेको हो ।
इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै अवार्ड जित्न सफल भएको छ ।
अवार्डका लागि विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् ।
इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि यो अवार्ड वितरण सुरु गरेको हो । यस वर्षका लागि अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो ।
जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।
बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।