logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ पुस्तकालय दिवस मनाइँदै

    ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ पुस्तकालय दिवस मनाइँदै

    315
    Shares
    ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ पुस्तकालय दिवस मनाइँदै

    कास्की । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित यही भदौ १५ गते १७ औँ राष्ट्रिय पुस्तकालय दिवस  मनाइँदैछ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् ।

    उक्त दिवसका अवसरमा पोखरा सार्वजनिक पुस्तकालय/अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु सात हजार, द्वितियलाई पाँच हजार रुपैयाँ, तृतीयलाई चार हजार रुपैयाँ र सान्त्वना पुरस्कार दुई हजार रुपैयाँ राखिएको छ ।

    यस्तै विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा यही भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिए ।

    १४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने सचिव शर्माले बताए ।

    दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उनले जानकारी दिए । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उनको भनाइ छ ।

    सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही ४० वर्षसम्म सेवा पुर्याएका पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ ।

    “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भने, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

    स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।

    पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुन् । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ ।

    पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले पनि विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाकाअनुसार समुदायमा सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम तय गरिएको छ ।

    गत साउन २१ गते शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो । पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ ।

    गण्डकी प्रदेशका ११ जिल्लामा हाल ४० भन्दा बढी सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend