logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘सेलिङ प्रेसर’ले सेयर बजारमा आयो पहिरो

    ‘सेलिङ प्रेसर’ले सेयर बजारमा आयो पहिरो

    679
    Shares
    ‘सेलिङ प्रेसर’ले सेयर बजारमा आयो पहिरो

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । बजार झण्डै ८० अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २८ सय ९४ अंकमा आएर अडिएको छ ।

    लगातार नयाँ रेकड कायम गर्दै आएको सेयर बजारमा साताको पहिलो दिन आइतबार ब्रेक लागेको हो । आइतबार सेलिङ प्रेसरको असर बजारमा देखिएको छ । सस्तो मूल्यमा किनेको सेयरको छोटो समयमा राम्रो नाफा भएको मौकामा कारोबारीहरुले नाफा बुक गर्दा अन्तिम समयमा बजारमा सेयरको सेलिङ प्रेसर देखिएको हो ।

    यस दिन ३ सय ३३ कम्पनीहरुको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ४ करोड २६ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । लघुवित्त बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आइतबारको गिरावटसँगै बजार पुनः २८ सयको लाइनमा आएको छ । डेढ महिनाकै अवधिमा सूचक १ हजार अंकले बढ्यो । कतिपय कम्पनीको मूल्य दोब्बरभन्दा बढी पनि भयो ।

    बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको थियो । विदेशमा रहेका नेपालीले समेत सेयर कारोबारमा बढी चासो देखाउन थालेका छन् । १ सय ८४ कम्पनीको सेयर मूल्य घट्दा ६० कम्पनीको बढेको छ ।

    तीन लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको नेप्सेले जनाएको छ । यस्तै मन्दाकिनी हाइड्रोपावर र कुमारी बैंकको केबिएल डिबेञ्चरको मूल्य नकरात्मक सर्किट नजिक पुगेको छ ।

    आइतबार अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अपी पावरको ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ७३ करोड ४३ लाख र साइन रेशुङा डेभलपमेन्ट बैंकको ९१ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    आइतबार ट्रेन्ड हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाउँछ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दो क्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् ।

    नेपाल राष्ट्र बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ । यसबीचमा सूचीकृत कम्पनीहरुले नाफाको ग्राफ बढाउँदै लगेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend