logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशमा नेपालीको पौरख

    कतारमा झबिन्द्रको श्रमिकदेखि मालिकसम्मको यात्रा

    कतारमा झबिन्द्रको श्रमिकदेखि मालिकसम्मको यात्रा

    6.4K
    Shares
    कतारमा झबिन्द्रको श्रमिकदेखि मालिकसम्मको यात्रा

    दोहा (कतार) । कोरोना महामारीले विश्व आक्रान्त बनाइरहँदा मध्यपूर्वको विकसित देश कतार पनि अछुतो थिएन । सधै व्यस्त हुने दोहा सहरमा त्यो बेला एकाएक सुनसान छाएको थियो । कोरोना संक्रमण फैलिँदै जाँदा मानिसहरु आफूलाई घरभित्रै सीमित बनाएका थिए । अझ कामदारका रुपमा कतार पुगेका नेपालीलगायतका श्रमिकहरुको अवस्था बिग्रँदो थियो ।

    दोहाको चर्को गर्मीमा दिनभरी पसिना बगाएर आर्जेको पैसाले नेपालमा घरखर्च चलाउनेहरुको अवस्था दयनीय बनेको थियो । त्यसमाथि कोरोना संक्रमित भइहाले नजिकका पनि टाढिँँदै गइरहेका थिए । यही समयमा गुल्मी मालिका–५ छापा हिलेका झबिन्द्र आचार्यले अघि बढाएको सहयोगी हातले उनलाई ‘सबैको प्रिय’ बनाएको छ ।

    उनले कोरोनामा आफूलाई घरभित्रै सीमित राखेनन् । सहयोगको खाँचो हुनेहरुलाई खाना पुर्याए। खानासँगै औषधि र अन्य आवश्यक वस्तु उपलब्ध गराए । दिनरात नभनी स्वास्थ्यको जोखिम उठाएरै सम्भव भएसम्मका कोरोना प्रभावितको अवस्था बुझे । आवश्यकताअनुसारको सहयोग पनि गरे । उनको यही सहयोगी व्यवहारकै कारण उनी सबैका प्रिय व्यक्ति बने ।

    “कोरोनाको समयमा केही साथीहरु बाहिर हिँड्न डराउने अवस्था पनि थियो, तर मैले कहिल्यै पनि कतै जान्न भनिन्, क्वारेन्टिनमा बसेकालाई खाद्यान्नदेखि आवश्यक सबै कुरा पुर्याइयो”, उनले भने, “नगेन्द्र राईलगायत साथीहरुको सहकार्यमा टाढाटाढासम्म पुगेर सहयोग गरेकाले होला अहिले पनि अधिकांशले प्रशंसा गर्छन् ।” उनले कोरोनाको समयमा संयोजक उत्तम गुरुङको निर्देशनमा काम गर्न सहज भएको र त्यो समयमा धेरैलाई सेवा गर्ने अवसर मिलेको सुनाए ।

    श्रमिकका रुपमा कतार पुगेका झबिन्द्रले कोरोना महामारीको समयमा कसरी अरुलाई सहयोग गर्न सके त ? उनी भन्छन्, “यसको कथा पनि लामै छ । कतारमा सत्र वर्ष बिताउँदा यहाँको दोहासँगै हाम्रो जीवनमा पनि परिवर्तन आएको छ ।”
    सन् १९८५ मा जन्मिएका झविन्द्रले कलिलै उमेरमा घर छाडेका थिए । बुबा इन्डियामै हुनुहुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर थियो । गाउँका अधिकांश जागिर खोज्दै इन्डिया जाने भएकाले उनी पनि लाहुरे बन्ने सपना बनेर १२ वर्षको उमेरमा सन् १९९७ मा इन्डिया पुगेका थिए ।

    भारतमा उनले सुरुमा कोठीमा काम पाएँ । कोठी अर्थात् घरमा । भाँडा माझ्ने, सरसफाइ गर्नु उनको दैनिकी बन्यो । सुरुआती तलब १५० भारु थियो । कोठी छाड्दै अर्को कोठीमा जाँदै गर्दा तलब पनि बढ्न थाल्यो । तीन सय, पाँच सय, आठ सय र एक हजार भारु हुँदै तलब १५ सयसम्म पुग्यो ।

    “कोठीको काम छाडेर होटलमा काम गर्दा सुरुमा एक हजार रुपैयाँ  तलब थियो, काम भने खाना डेलिभरी गर्नुपर्ने, त्यही होटलमा डेलिभरी ब्वायदेखि म्यानेजरसम्म भएर काम गरे”, उनले भने, “तलब पनि एक हजारबाट १५ सय हुँदै ४८ सय भारुसम्म पुग्यो ।”

    झबिन्द्रले होटलमा काम गर्दागर्दा गाडी चलाउन सिकिसकेका थिए । लाइसेन्स पनि आइसकेको थियो । त्यसैले उनले भारतमै गाडी चलाउन थाले । करिब दुई वर्ष गाडी चलाएपछि गाउँले अंकलको सल्लाहमा उनी कतार आएका थिए । “गाडी चलाउन जानेकाले अंकलले सुरुमा जे जस्तो काम पाइए पनि पछि गाडी चलाउन पाइन्छ भन्नुभएको थियो, त्यही लोभमा मलाई कतार आउने रहर जागेको थियो”, उनले भने ।

    झबिन्द्र सन् २००७ मा श्रमिकका रुपमा कतार आएका थिए । त्यो समयमा दोहाका सडक गणना गर्न मिल्ने संख्यामा थिए । र, ती सडक आजका जस्ता स्तरीय पनि थिएनन् । पुलको संख्या पनि कमै थियो । अग्ला भवन धेरै बनिसकेकै थिएनन् । अहिले शानदार सहरका उभिएका ठाउँ मरुभूमिमै थिए ।

    उनी कतारमा कार्यालयमा काम गर्ने भनि आएका थिए । तर काम भने बंगालीको होटलमा भाँडा माझ्ने आइलाग्यो । उनले नाइनास्ती नगरी दुई वर्षसम्म भाँडा माझे । त्यसपछि निर्माण कम्पनीसँग आबद्ध भएका उनले त्यसयता यसै क्षेत्रमा करिअर अगाडि बढाएका छन् । सुरुआतमा श्रमिकका रुपमा काम गरेका उनी यतिबेला व्यवसायीका रुपमा अरुलाई काम दिइरहेका छन् ।

    “दुई वर्ष भाँडा माझेपछि अब केही नयाँ गर्नुपर्छ भन्ने लागेको थियो, सन् २००९ मा निर्माण कम्पनीमा पेन्टिङको काम पाएपछि त्यसैमा सक्रिय भएँ”, झबिन्द्रले भने, “केही वर्ष श्रमिकका रुपमा काम गरेपछि, यसबारे बुझ्ने मौका मिल्यो, कसरी काम गर्ने प्रक्रिया पनि जानियो । पछि ठेक्क पनि लिन थालेँ ।”

    सन् २०१० पछि कतारमा विकास निर्माणको लहरै चलेको थियो । अग्ला र शानदार भवन हरेक दिन जस्तो उभिँदै थिए । सडकहरु हरेक दिन फराकिला र चिल्ला भइरहेका थिए । विकास निर्माणको यही लहरमा झबिन्द्रले सुरु गरेको पेन्टिङ ठेक्काको कामले राम्रो भयो । सन् २०१४ मा अरुकै सहकार्यमा यस व्यवासयमा हात हालेका उनले सन् २०१८ देखि भने आफ्नै कम्पनी स्थापना गरी काम गरिरहेका छन् ।

    “मालिक त होइन, व्यवसाय भने गरिरहेको छु, आज पनि श्रमिकहरुसँगै उनीहरु जत्तिकै सक्रिय भइ खटेको छु, मलाई काम सानो र ठूलो भन्ने कहिल्यै पनि लागेन”, उनले भने । झबिन्द्रले कम्पनी सुरुआत गरेको केही समयमै कोरोना महामारी सुरु भयो । कोरोना महामारीको असर लामो समयसम्म रह्यो । तर यसबीच उनलाई भने फाइदा भयो ।

    कम्पनी स्थापनापछि कोरोना महामारीमा उनलाई सबैभन्दा बढी काम आयो । व्यापार व्यवसायले अपेक्षाअनुसारको तरक्की गर्ने मौका पायो । सन् २०२२ मा कतारमा विश्वकप प्रतियोगिता हुने भएकाले झबिन्द्र र उनी जस्ता कैयौँले समयको भरपुर सदुपयोग गरे । झबिन्द्रका शब्दमा त्यो समयमा काम भ्याइनभ्याइ थियो । यही समयमा कैयौँ नेपाली र बंगालीलाई उनले काम दिलाएका थिए ।

    तर विश्वकप सकिएसँगै कामको गतिमा केही कमी आएको छ । यद्यपि निराश हुने गरीको भने छैन । झबिन्द्र कतारमा भौतिक पूर्वाधारको विकास निर्माणको काम पूरा भइसकेको ठान्छन् । त्यसैले अब भौतिक विकासभन्दा पनि अन्य क्षेत्रतर्फ व्यवसायलाई डोहोर्याउनु पर्ने उनको बुझाइ छ ।

    “कतारमा पछिल्लो दशकमा जे जति विकास भएको छ, त्यो आफैमा पूर्ण हो, अब यहाँ थप विकास निर्माणको खाँचोभन्दा पनि तत्कालका लागि मर्मत र सरसफाइकै क्षेत्रमा ठूलो सम्भावना छ । कम्पनीको क्षेत्र पनि त्यसैअनुसार विस्तार गर्ने योजना छ”, उनले भने ।

    समाज सेवादेखि गीतसंगीतसम्म

    दोहा सहरमा कसैलाई समस्या परिहाल्यो भने झबिन्द्र पुगिहाल्छन् । आफू पुग्न नसके अरुमार्फत सहकार्य गर्छन् । उनको यो सहयोगी भावनाकै कारण सबैबाट सम्मान पनि पाएका छन् । हाल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सहकोषाध्यक्ष र गुल्मी कतार सेवा समाजको वरिष्ठ सल्लाहकारका रुपमा सेवारत झबिन्द्र नेपालीका लागि अझै पनि धेरै काम गर्न सकिने बताउँछन् ।

    कतारमा आयोजना हुने विभिन्न कार्यक्रममार्फत आफूलाई समाजसेवामा सक्रिय बनाइराखेका उनी नेपाल र नेपालीका लागि अझै धेरै काम गर्ने प्रयासमा छन् । यही सक्रिय सामाजिक जीवनले नेपालको नियास्रो मेटाएको छ । “नेपाल त्यसै पनि टाढा छैन, चार घण्टामा पुग्न सकिन्छ, फेरि यहाँ विभिन्न संघ संस्था सक्रिय भइरहेकाले नेपाल ‘मिस’ गरिहाल्ने अवस्था छैन”, उनले भने ।

    झबिन्द्र व्यवसाय र समाजसेवा मात्रै होइन गीतसंगीतमा पनि उत्तिकै रुचि राख्छन् । आफूले गीत नगाए पनि म्यूजिक भिडियो निर्माण गरेका छन् । गत वर्ष आफ्नै गाउँको परिवेशलाई समेटी बनाएको ‘गुल्मी छापा हिलेमा…’ गीतमार्फत गाउँको प्रबद्र्धन  गरेका छन् । “रहर पूरा गर्ने अनेक माध्यम हुन्छन् । मैले यो गीतलाई लिए । गीत निकाल्ने रहरसँगै धुमधामसँग बिहे गर्ने रहर पनि यही गीतमार्फत पूरा गरे”, उनले भने । म्यूजिक भिडियोमा झबिन्द्रले श्रीमतिसँगै अभियन गरेका छन् । “धुमधामसँग बिहे गर्ने रहर पूरा भएन, पछि भिडियोबाटै भए पनि पूरा भयो”, उनले सुनाए ।

    नेपालमा विकास भएन भन्न मिल्दैन..

    झबिन्द्र अरुले जस्तो नेपालमा विकास नै नभएको भन्न नमिल्ने तर्क गर्छन् । तर जति हुनुपर्ने हो त्यो अपेक्षा पूरा नभएको भने उनी स्वीकार गर्छन् । “हामीले कतारको विकाससँग नेपालको तुलना गर्न मिल्दैन, यहाँको भू–बनोट, आर्थिक अवस्था, इच्छाशक्ति धेरैले फरक पार्छ”, उनले भने, “कतारमा जस्तो फराकिलो र सम्म परेको भूगोल छैन, राम्रो गरी बनाएको बाटो बाढी र पहिरोले लामो समय टिक्न पनि दिँदैन ।”

    उनी आफू कतार आउँदा गुल्मीमा टुकी बाल्ने गरेको स्मरण गर्दै त्यहाँ अहिले बत्तीको सुविधा पुगेको तर्क गर्छन् । ट्याक्टरको आवाज सुन्दा मात्रै आश्चर्य मान्ने र ट्याक्टरको टायरको डाम हेरेर मख्ख पर्ने समयबाट आज सहजै गाउँमा गाडी पुग्न थालेको बताउँछन् ।

    “म यहाँ आउँदाको कतार र अहिलेको कतारमा ठूलो फरक छ, त्यसैगरी छाड्दै गर्दाको गुल्मी र अहिलेको गुल्मीमा विकासको ठूलो अन्तर छ”, उनले भने । त्यसैले नेपालमा विकास नै भएन भन्ने तर्क उनलाई स्वीकार्य छैन । तर राजनीतिक इच्छाशक्ति, स्रोत र साधनको पर्याप्तता हुने हो भने अझ धेरै काम गर्न सकिने उनको बुझाइ छ ।

    उनी अझै केही समय कतारमै बस्ने र नेपाल फर्किएपछि आफ्नै व्यवसाय गर्ने योजनामा छन् । हाल बुटवलको नयाँ मिलमा बस्दै आएका उनी त्यस क्षेत्रमा  विकास निर्माणको राम्रो सम्भावना देखेकाले कतारको व्यवसायलाई नेपालमा ल्याउने सोच पनि बनाएका छन् । यद्यपि कहिले फर्कने भने टुंगो लगाइसकेका छैनन् ।

    कतारमा करिब १७  वर्षको अवधिमा कैयौँ  साथीहरुले विभिन्न मोडमा ठूलो सहयोग गरेका छन् । कतिले आर्थिक रुपमा त कतिले मानसिक रुपमा गुन लगाएका छन् । ती सबैको सहयोग र साथका कारण आफू आजका दिनमा यहाँसम्म आइपुगेकाले सबैलाई आभार व्यक्त गर्छन् उनी ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend