काठमाडौं । सेयर बजारमा मंगलबार पहिरो गएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १ सय ११.९६ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २७ सय ८२.६० अंकमा अडिएको छ । आइतबार सेयर बजार ८० अंक घटेको थियो । दुई दिनमा बजार १ सय ९२ अंक घटेको छ ।
आइतबार जस्तै लगानीकर्ताबाट सेलिङ प्रेसर आएपछि मंगलबार बजार ओरालो लागेको हो । बजार फराकिलो अंकले घटेपछि नेप्से सूचक पुनः २७ सयको लाइनमा झरेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
लगातार नयाँ रेकड कायम गर्दै आएको सेयर बजारमा साताको पहिलो दिन आइतबारदेखि ब्रेक लागेको हो । आइतबारदेखि सुरु भएको सेलिङ प्रेसरको असर बजारमा देखिएको छ । सस्तो मूल्यमा किनेको सेयरको छोटो समयमा राम्रो नाफा भएको मौकामा कारोबारीहरुले नाफा बुक गर्दा अन्तिम समयमा बजारमा सेयरको सेलिङ प्रेसर देखिएको हो । आइतबार घटेपछि यसको मनोविज्ञान मंगलबार पनि परेको हो ।
सेयर बजारमा पहिरो गएका बेला दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टि पावर कम्पनी लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको छ । यस्तै नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ । मंगलबार २० कम्पनीको सेयर मूल्य बढ्दा २ सय २३ कम्पनीको घटेको नेप्सेले जनाएको छ ।
यस दिन १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको ४ करोड ३६ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर किनबेच भएको छ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी ६५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपी पावर कम्पनीको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँ सेयर किनबेच भएको छ ।
यो पनि :
‘सेलिङ प्रेसर’ले सेयर बजारमा आयो पहिरो