काठमाडौ । सार्वजनिक निजी लगानीमा बनेको मुलुककै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) पुनरावलोकन मुद्धा जोडका साथ उठ्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतले दोलखा जिल्लामा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समस्याबारे बुझाएको ज्ञापनपत्रमा पिपिए दर पुनराबलोकन हुनुपर्ने माग गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच भएको असमान विद्युत् खरिद सम्झौतालाई पुनरावलोकन गर्न माग गरेका छन् । विद्युत प्राधिकरणसँग पिपिए गरेका अन्य जलविद्युत आयोजनाहरूको प्रतियुनिट वर्षातमा ४.८० र हिउँदमा ८.४० रुपैयाँ छ । माथिल्लो तामाकोसीमा भने वर्षातमा ३ र हिउँदमा ४ रुपैयाँ मात्रै छ । माथिल्लो तामाकोसीको पिपिए दर अन्य आयोजनाको भन्दा कम भएकै कारण आम्दानी कम देखिएको छ । आम्दानी कम भएपछि आयोजना पूरा भएको ३ वर्ष पुगिसक्दासमेत सेयर लगानीकर्ताको हात खाली छ ।
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले स्थानीय जनतालाई दिइँदै आएको सेयरको लकिङ पिरियड हटाउनुपर्ने, विद्युत् प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावरबीच असमान पिपिएको पुनरावलोकन गर्न मागलाई जोडका साथ उठाएका छन् । पिपिए दर बढाएमा कम्पनीले छिटो ऋण तिर्नुका साथै लगानीकर्तालाई लाभांश बाँड्न थाल्ने उनीहरुको भनाई छ।
यस्तै आयोजनाको बाँधमा पानी चुहिने समस्या रहेकाले मर्मतसम्भार गर्नुपर्ने, हिउँदयाममा सम्झौता भएअनुसारको विद्युत् दिन नसक्दा तिरिँदै आएको पेनाल्टीलाई बर्खायाममा पूर्ण क्षमतामा सञ्चालन गरी परिपूर्ति गर्नुपर्नेमा बिग्रेका मेसिन मर्मत नहुँदा पूर्ण क्षमतामा उत्पादन हुन नसकेको उनले जानकारी गराएका छन् ।
यसअघि गत वैशाखमा पनि जिल्ला समन्वय समिति दोलखाले २ हप्ताअघि काठमाडौं आयोजना गरेको दोलखाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यान्वयन गर्न बुझाएको पत्रमा पनि पिपिए दर असमान भएको भन्दै पुनरावलोकन गर्न माग गरिएको थियो ।
पत्र बुझ्दै तत्कालिन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पिपिए पुनरावलोकन हुने बताएका थिए। अहिले पनि सोही मुद्धा दोहरिएको छ । त्यसबेला उनले एउटा संयन्त्र बनाएर अपर तामाकासीको पिपिए दर पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका थिए । तत्कालिन मन्त्री बस्नेतले चाँडै एउटा संयन्त्र बनाउने जानकारी गराएका थिए ।
स्वदेशी लगानीमा बनेको सबैभन्दा ठूलो जलविद्युत आयोजनामा ८ लाख बढी सर्वसाधारणको सेयर लगानी छ । आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड युनिट बिजुली उत्पादन हने गरेको छ । आयोजनाको समय थपिएपछि लागत दोब्बर बढेर ९० अर्ब रुपैयाँ पुगेको छ । अपर तामाकोसीले २२ मेगावाटको रोल्वालिङ डाइभर्सन परियोजना निर्माण सुरु गरेको छ ।
डाइभर्सनबाट थप ३१ करोड युनिट बिजुली उत्पादन हुने देखिएको छ । यो आयोजना सञ्चालनमा आएपछि मात्र अपर तामाकोसीले सेयरधनीलाई लाभांश दिने कम्पनीले बताउँदै आएको छ । तामाकोसीमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडले लगानी गरेका छन् । दीर्घकालिन ऋण ४६ अर्ब ८ करोड रुपैयाँ बाँकी छ । कम्पनीले गत असारसम्म सरकारको ५ र वित्तीय संस्थालाई १० किस्ता ऋण भुक्तान गरेको जनाएको छ ।
खुद नोक्सान २ अर्ब ६८ करोड
गत आर्थिक वर्षमा अपर तामाकोसी हाइड्रोपावरको खुद नोक्सान २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४ अर्ब ९ करोड ८२ लाख रुपैयाँ खुद नोक्सानमा थियो । खुदनोक्सान झण्डै आधा घटेको छ । नोक्सानका कारण प्रतिसेयर आम्दानी १२.६९ रुपैयाँ ऋणात्मक छ ।
यस्तै कम्पनीको प्रतिसेयर कितावी मूल्य पनि ५६.८८ रुपैयाँ छ । गत वर्ष बिजुली बेचेर कम्पनीले ८ अर्ब ७५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
यो पनि :
माथिल्लो तामाकोसी आयोजनाको बिजुलीको मूल्य बढ्ने, पिपिए पुनरावलोकन संयन्त्र बनाउन मन्त्रालयको तयारी