logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चाइना हार्बरको सान्जेन खोला आयोजनामा ढिलाइले लागत ४ अर्ब बढ्यो, माघमा बिजुली उत्पादन होला ?

    चाइना हार्बरको सान्जेन खोला आयोजनामा ढिलाइले लागत ४ अर्ब बढ्यो, माघमा बिजुली उत्पादन होला ?

    735
    Shares
    चाइना हार्बरको सान्जेन खोला आयोजनामा ढिलाइले लागत ४ अर्ब बढ्यो, माघमा बिजुली उत्पादन होला ?

    काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजना फरी पछि धकेलिएको छ । आयोजनाबाट आगामी माघ (सन् २०२५ जनबरी) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

    यसअघि गत असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको थियो । आयोजना फेरी पछि धकेलिएको छ । गत असारसम्म आयोजनाको ९१ प्रतिशत भौतिक प्रगति र ६५ प्रतिशत वित्तीय प्रगति भएको सालासुङी पावरले जनाएको छ । अहिलेको अवस्था हेर्दा निर्धारित समयमा आयोजना सम्पन्न नहुने सम्भावना बढी छ । अझै ९ प्रतिशत काम सक्न बाँकी छ ।

    यसअघि २०२० जुन २२ सम्म बिजुली उत्पादन गर्नुपर्ने थियो । कोरोना महामारीले आयोजनाको काम सुरु नहुँदा २०२२ जुलाई ३१ सम्म पुगेको थियो । आठौं पटक विद्युत उत्पादन म्याद थप्न कम्पनीले नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पठाएको छ । विद्युत प्राधिकरणले उत्पादन मिति थप्न भने बाँकी छ । अहिलेको अवस्था हेर्दा निर्धारित समय आउँदो माघसम्म आयोजना सम्पन्न नहुने सम्भावना छ ।

    चाइना हार्बर इन्जिनियरिङ कम्पनी र वाइड रिसोर्सेस लिमिटेड हङकङको संयुक्त लगानीमा उक्त आयोजना बन्न लागेको हो । आयोजनामा नेपाली साझेदार विष्णुराज अधिकारी छन् । चाइना हार्बरको ९२ प्रतिशत चिनियाँ र ८ प्रतिशत स्वामित्व अधिकारीको छ । सालासुङ्गी पावरमा अध्यक्ष चिनियाँ नागरिक युन लियाङ र सञ्चालकमा अधिकारी छन् । युनको जलविद्युत क्षेत्रमा तीन दशक बढी अनुभव छ ।

    लागत बढेको बढ्यै

    आयोजना सालासुङ्गी पावर लिमिटेडमार्फत निर्माण भइरहेको छ । आयोजनाको लागत झण्डै २ अर्ब बढेर १७ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको छ । प्रति मेगावाट लागत पनि बढेर २२ करोड १६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । समय लम्बिदै गएकाले आयोजनाको लागत अझ बढ्ने जोखिम कायमै छ ।

    यसअघि १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान थियो । निर्माण थाल्दा आयोजनाको कुल लागत १३ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान थियो । आयोजना बनाउन प्रतिमेगावाट लागत १९ करोड ७२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । निर्माणमा भएको ढिलाइ र नेपाली मुद्रा कमजोर हुँदा आयोजनाको लागत ४ अर्ब १० करोड रुपैयाँ बढेको छ ।

    नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूलयन भएपछि लागत बढेको कम्पनीले जनाएको छ । कूल लागतको ८० प्रतिशत हिस्सा डलरमा छ । नेपाली रुपैयाँ कमजोर भएपछि आयोजनाको लागत बढेको विकासकर्ता कम्पनीको दाबी छ ।

    आयोजनामा ९ अर्ब २३ करोड ३० लाख रुपैयाँ बैंक ऋण र बाँकी ६ अर्ब १५ करोड ४० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी छ । ४ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ संस्थापकले आयोजनामा लगानी गरिसकेका छन् । ६३ प्रतिशत बैंक ऋण र ३७ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ ।

    आयोजनाको कुल लागतमध्ये ९२ प्रतिशत हिस्सा चाइना हार्बर र वाइड रिसोर्सेससँग छ । बाँकी ८ प्रतिशत नेपाली साझेदार विष्णु अधिकारीको छ ।

    आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंक अगुवाइमा सिटिजन्स बैंक र कुमारी बैंकले ९ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २०७६ जेठ ३१ मा आयोजना विकासकर्ता सालासुङ र बैंकहरूबीच ऋण लगानी सम्झौता भएको थियो । सान्जेन खोला नदी प्रवाह (रन अफ द रिभर) मा आधारित आयोजना हो ।

    आफैं निर्माण तथा सञ्चालन (बुट) मोडेलमा आयोजना निर्माण भइरहेको छ । आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट (इपिसी) मोडेलमा बन्ने छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने गरी खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा ८.४० रुपैयाँमा पिपिए भएको छ ।

    आयोजनाको लोडफ्याक्टर ६२.७१ प्रतिशतमात्र छ । वार्षिक ३ प्रतिशतका दरले ८ वर्षसम्म आयोजनाले मूल्यवृद्धि पाउनेमा ढिलाइले घटेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली साढे सात किलोमिटर दुरीमा रहेको चिलिमे हबको १ सय ३२ केभी सबस्टेसनमा जोड्न प्रस्ताव गरिएको छ । आयोजनाले १ सय ३६ वर्गकिलोमिटर क्षेत्रफल ढाक्ने छ ।

    सालासुङ पावर २००९ मा स्थापना भएको थियो । २०२० मा सालासुङ्गी पब्लिक कम्पनीमा परिणत भएको थियो । आयोजना रसुवा चिलिमेमा रहेको सान्जेन खोलामा छ । सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्युमेक प्रतिसेकन्ड रहने र खुदहेड करिब १ हजार मिटर हुनेछ । आयोजना रसुवा आमछोडिङमो गाउँपालिकामा छ ।

    चाइना हार्बर इन्जिनियरिङ विश्वभरि ९० भन्दा बढी शाखा र प्रतिनिधि कार्यालय छ भने सयभन्दा बढी देशमा परियोजनाका काम गरिरहेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend