काठमाडौं । पाकिस्तानका लागि प्रस्तावित राजदुत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन् ।
सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ ।
सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाले आफूले सोही अनुसार काम गर्ने बताइन् ।
उनले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरुले स्विकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो । र राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरु सृजना भएका छन । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरु आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो ।
त्यसैले यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरुप नै मेरो पनि पहल हुनेनैछ । सार्कप्रति नेपालले राखेको महत्व र अहिलेका अध्यक्षको रुपमा नेपालले गर्दै आएको भुमिकालाई फेरि पनि दोहो¥याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ ।
कोभिड कालमा क्षेत्रीय सहयोगको कति जरुरी थियो भन्नेकुरा थाहा भएकै विषय हो । त्यसैले सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रष्ट धारणा छ । र नेपाल सरकारको धारणा अनुरुप नै त्यसलाई पहल गर्नेछौं ।’
प्रस्तावित राजदुत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।