logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस-एमाले गठबन्धन लामो समय जाँदैन : माओवादी सांसद आलेमगर

    कांग्रेस-एमाले गठबन्धन लामो समय जाँदैन : माओवादी सांसद आलेमगर

    427
    Shares
    कांग्रेस-एमाले गठबन्धन लामो समय जाँदैन : माओवादी सांसद आलेमगर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले कांग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन् ।

    सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।

    मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताए । उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताए ।

    उनले भने, ‘यतिबेला एउटा गठबन्धनको सरकार छ । सबैभन्दा ठूला दुई दलहरु मिलेर बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ । यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन । हामी रोई, कराई गरेका छैनौँ । बिलौना गरेका छैनौँ ।

    यो अगाडि बढोस् । थुप्रै मान्यज्युहरुले यहाँ अभिव्यक्त गर्नुभएको जस्तै गठबन्धन फेरि रहन्छ, सरकार बदलिरहन्छ, यो नौलो कुरा होइन । कसैले पनि चिन्ता र आपत्ति मान्नुपर्ने कुरा छैन । हामी पनि यो सरकारको दीर्घायुकै कामना गरौँला । तर केका लागि बनेको भन्नेकुरा दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।

    एक जना मन्त्रीले भन्नुभयो, एमालेसँगको गठबन्धन खुकरीको धारमा हिँड्नु जस्तै भएको छ । यस्तै हो भने धेरै लामो जाला जस्तो म त देख्दिनँ ।’

    उनले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend