काठमाडौं । नेकपा एमालेका सांसद तारा लामाले केही समयका लागि सबै सांसदलाई सडक सुरक्षा सम्बन्धी सचेतनामा विशेष अभियानको अगुवाई गर्न सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद लामाले सडक सुरक्षा सचेतनमा १६५ निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सुझाव दिएका हुन् । उनले सडक र हवाई यात्रा सुरक्षाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न जोडदार माग गरेका हुन्।
उनले यात्रुहरूमाझ र सर्वसाधारण सबैमा सडक सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने बताए । “नेपालमा सडक सवारी दुर्घटनाको संख्या दिन प्रतिदिन बढिरहेको छ। यी दुर्घटनाले अनगिन्ती निर्दोष ब्यक्तिहरुको जीवन गुम्ने मात्र होइन, अंगभंग तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। यस समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक छ” उनले भने ।
सबैभन्दा पहिले, सवारी साधनको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक भएको उनको भनाई छ। यस्तै पुराना र जिर्ण अवस्थामा रहेका सवारी साधनको प्रयोग रोक्न र सवारी साधनको स्तरीयता सुनिश्चित गर्न कडाइका साथ नियम पालना गरिनुपर्ने उनको तर्क छ ।
दोस्रोमा चालकको तालिम र सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने योग्य र प्रशिक्षित चालक मात्र सडकमा सवारी चलाउन अनुमति दिने व्यवस्था गर्नुपर्ने सांसद लामाको सुझाव छ ।
दुर्घटनामा परेका पीडितलाई तत्काल र प्रभावकारी राहत उपलब्ध गराउने व्यवस्था गर्न उनले माग गरेका छन् ।