काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताए । उनले अहिलेको सकरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।
धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए ।
उनले सरकारको साही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बताए ।
उनले भने, ‘यति धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर आज मुलुकको आवश्यकताका लागि जे प्रयास गर्नुभएको छ । यो अत्यन्तै सह्रानिय छ । अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरुले यहाँ धेरै कुरा देखेँ ।
ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरुको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरुले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ । यि उपभोग्य वस्तुहरुको अभावमा महिला दिदिबहिनीहरुले घरमा धेरै समय बिताउनुपर्ने अवस्था थियो, त्यो समयको वचत हुनेछ ।
अहिले यो दुई ठूला दलहरुसमेतको सरकार निर्माण भएको छ । यो स्थायी सरकार हो । आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने अवस्था छ । सामाजिक, राजनीतिक हिसावले विश्वसनीय वातावरण सिर्जना भइसकेको छ । अब आउने र निर्माण हुने कानूनहरुले यथेष्ठ सहयोग पुग्नेछ ।’
यस्ता मेलाले विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने विश्वास उनले व्यक्त गरे । उनले सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रीतवद्धता जनाए ।