काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताएका छन् ।
शनिबार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् ।
उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरुलाई जन्माउनुपर्ने बताए । उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरु जन्माउनुपर्ने र आफूहरु त्यही अभियानमा लागेको बताए । उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।
उपसभापति अर्यालले आफूहरु पार्टी स्थापना गर्दाको संकल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए । उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे ।
उनले भने – ‘हामी को हौँ भनेर कहिलेकाहीँ चर्चा हुन्छ । म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, हामीले करिब ३६ हजार १०७ जना रविहरु यो देशमा जन्माउनु पर्नेछ । ३६ हजार १०७ जना रविहरु यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले, रास्वपाले हामी को हौँ भन्दै गर्दा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा पार्टी सभापतिज्युले जे बोल्नुभएको थियो ।
हामी त्यही रहिरहनेछौँ । हामी त्यहाँबाट काहीँ विचलित भएका छैनौँ । हामी परिवर्तन भएका छैनौँ । बाजा नबजाइकन जन्ति आउँछ भने गाउँलेलाई थाहा हुँदैन । तर जन्ति आइसकेपछि बाजा बज्न थाल्छ त्यसपछि सबै गाउँलेलाई थाहा हुन्छ । २०७९ मंसिर ४ गते रास्वपालाई त्यस्तै भएको थियो । सायद कसैलाई थाहा थिएन रास्वपा कसरी आउँछ ? कस्ता नेताहरुको उत्पति हुन्छ ? भनेर । जब मंसिर ४, वैशाख १० ले देखायो, सरकारमा गएर देखायौँ ।
त्यसपछि थाहा भयो सबैलाई यिनीहरु साँच्चै नै केही गर्न आएका रहेछन् । हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन् । यो देशको नागरिकलाई सूसुचित गर्न आएका रहेछन् । भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरुले त्यसकारण राजनीतिलाई ज–जसले पेशा बनाएर बसेका थिए ति पेशा बनाएर बस्नेहरु आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो । केन्द्रले गल्ती नै गरेको हो कि क्या हो जस्तो तपाईहरुलाई सशंकित बनाउँछ ।
हामीले जे बोलेका छौँ त्यसलाई परिमार्जन गर्दै जान्छौँ तर त्यही हौँ । रास्वपाका नेताहरुले भ्रष्टाचार गर्यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुपर्यो । प्रमाणित भएपछि हामीसँग कुनै बाटाहरु छैनन् जोगाउने । त्यो अन्तिम नै हो । जनतालाई केही दिन्छु भनेर आएको मान्छे आफ्नो पार्टीभित्र बसेर भ्रष्टाचार गर्न सक्दैन । यो फरक हो हाम्रो । रास्वपाका कुनै नेताले आफ्ना श्रीमति, आफ्ना दिदी, भाई, बहिनीलाई आफु नेता भएकाले पदमा पुर्याउने र सांसद बनाउने काम गर्दैन ।
परिवारवाद यो पार्टीमा लागु हुँदैन । संगठन बिस्तारमा आचारसंहिता लागु गर्नुपर्छ । हामीले हरेक वडामा रविहरुलाई जन्म दिनुपनेछ । एकजना रविले यो देश बन्ने भएको भए उहाँ टेलिभिजनमा भएर कराउँदै गर्दा बन्थ्यो होला । बन्दैन । हामीले हाम्रो संविधान भित्रै बसेर ३६ हजार भन्दा बढी रविलाई जन्म दिनुपर्नेछ यो देशमा ।
रविहरु, जसले यो देशको परिवर्तन गर्नु, देशलाई समृद्ध बनाउनु, भ्रष्टाचारको अन्त्य गर्नु अनि नागरिकलाई यो देशमा राज्य, सरकार छ भनेर महशुस गराउने अवस्थामा पुर्याउनलाई हामीलाई ति मान्छेहरु चाहिएकाले त्यस्तो मान्छे बन्नलाई आचारसंहिता महत्वपूर्ण हुन्छ ।’
उनले रास्वपामा पारिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरु भन्दा धेरै कुरामा रास्वपा फरक भएको बताए ।