logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • कैलालीमा जुम्ली स्याउको व्यापार

    कैलालीमा जुम्ली स्याउको व्यापार

    826
    Shares
    कैलालीमा जुम्ली स्याउको व्यापार

    कैलाली । हंशिला बमलाई जुम्ला माइती गाउँबाट स्याउ ल्याएर कैलालीमा बेच्न व्यस्त छिन् । यो वर्ष उनले ५ ट्रक स्याउ जुम्लाबाट कैलाली मगाएकी थिइन् ।

    १३ वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट बमले घरजग्गा जोडिसकेकी छन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

    ‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनी भन्छिन्, ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्‍यो ।’

    मागका आधारमा देशका अन्य जिल्लामा पनि बमले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छन् । जुम्लामा उत्पादित स्याउ प्रतिकेजी ७० रुपैयाँमा खरिद गरेर तराई पुर्‍याएपछि प्रतिकेजी एक सयदेखि १२० रुपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछिन् । ‘एक ट्रक स्याउ ल्याउन एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ’, उनी भन्छिन् ।

    बमले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्दै आएकी छन् । उनका भाइ र बहिनीले हंशिलालाई व्यापारमा साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

    कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेका छन् । चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्छन् । ‘चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ’, उनी भन्छन्, ‘मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।’

    सडक सञ्जाल नभएका कारण बगैंचामा नै स्याउ कुहिने न्यौपाने गुनासो गर्छिन् । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेका छन् ।

    ‘मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पुर्‍याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन’, उनी भन्छन्, ‘कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend