logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बर्खा सकिएसँगै मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी, असोज १० बाट वितरण गरिने

    बर्खा सकिएसँगै मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी, असोज १० बाट वितरण गरिने

    1K
    Shares
    बर्खा सकिएसँगै मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी, असोज १० बाट वितरण गरिने

    काठमाडौँ । असार १० बाट बन्द गरिएको मेलम्चीको पानी काठमाडौँ उपत्यकामा असोज १० गतेदेखि वितरणको तयारी गरिएको छ ।

    बर्खा सुरु भएसँगै पानी धमिलो आउन थालेपछि गत असार १० देखि मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो ।

    मेलम्चीको पानी नआउँदा काठमाडौैँमा पानीको अभाव भैरहेको छ । मेलम्चीको पानी आउन थालेपछि पानीको अभाव केही हदसम्म कम भएपनि विभिन्न कारणले गर्दा मेलम्चीको पानी नियमति काठमाडौँ नआउँदा समस्या हुँदै आएको छ ।

    काठमाडौँ उपत्यकामा अहिले पानीको माग दैनिक ४७ करोड लिटर छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको हो ।

    उपत्यकामा दैनिक ४७ करोड लिटरको पानी माग भएपनि मेलम्चीको पानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको छ ।

    केयूकेएलका अनुसार अहिले सुन्दरीजलबाट करिब ६ करोड लिटर मात्र पानी ल्याइएको छ । बाँकी पानी आन्तरिक स्रोतहरूबाट व्यवस्थापन गरिएको छ ।

    केयुकेएलले पानीको उपलब्धता हेरेर कतै दिन बिराएर त कतै आवश्यकताअनुसार वितरण गरिएको हो ।

    पानी कम हुँदा नियमति रुपमा वितरण गर्न नसकेको केयुकेएलले जानकारी दिएको छ । मेलम्चीको पानी आएपछि नियमित वितरणमा समस्या नहुने बताइएको छ ।

    ०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन नसकेको हो ।

    सरकारले मेलम्चीको पानी काठमाडौंमा बाह्रै महिना ल्याउन मिल्ने गरी काम अघि बढाएको छ । जसअनुसार अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी आयोजनाको छ ।

    दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७र१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने योजना रहेपनि निर्माणको काम भने सुरु भएको छैन ।

    मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ।

    मनसुन फेरि सक्रिय नभए र कुनै प्राविधिक समस्या नआएको खण्डमा असोज १० देखि पानी वितरणमा समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

    सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सीएमसीले आयोजनासँग सम्झौता तोडेको ६ वर्ष बिति सक्दा पनि स्थानीय सप्लायर्स र कामदारलाई दिनुपर्ने २७ करोडभन्दा बढी रकम भुक्तानी नदिँदा स्थानीय सप्लायर्सले आफ्नो रकम भुक्तानी नदिएसम्म काठमाडौं पानी लग्न नदिने अडान लिँदै आएका छन् ।

    इटालियन कम्पनीले सन् २०१८ मा मेलम्चीको इन्टेक र बाँध बनाउने ठेक्का एकतर्फी रूपमा तोडेको थियो । निर्माणका क्रममा स्थानीय व्यवसायीसँग गरिएको सम्झौताबमोजिम खरिद गरेको निर्माण सामग्री र ढुवानी सेवाबापतको रकम बाँकी छाडी सीएमसी भागेको हो ।

    यो पनि : 

    असोजको पहिलो सातादेखि काठमाडौँमा मेलम्चीको पानी

    मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

    बाढी आउन थालेपछि मेलम्चीको पानी बन्द

    मेलम्चीको पानी बाह्रै महिना राजधानी ल्याउन साढे ४ अर्ब लाग्ने

    मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend