काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समिक्षा गर्न जरुरी भएको औंल्याए ।
उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए । उनले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गरे । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ ? भन्ने कुरालाई सुक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसावले काम गर्नु जरुरी देखिएको उल्लेख गरे ।
उनले भने, ‘कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ । संस्थाले त्यस तर्फ पनि ध्यान दिनुपर्छ । नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको छ । त्यसमा २७ अर्ब बढी लगानी उठ्न बाँकी छ । त्यो रकम उठाउनको लागि आफैँ पहल गर्नुहुन्छ वा सरकार ग्यारेन्टी बसेको छ भनेर बस्नुहुन्छ ? यस्ता विषयहरु छन् ।
यस्तै अन्य गाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सुक्ष्म ढङ्गले हुर्नुपर्छ । प्रतिफललाई अझ बढी कसरी बढाउने त्यस ढङ्गले सोच्नुपर्छ । सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ । लगानी गरेर चित्त बुझाउने ढङ्गले होइन ।
सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्नु जरुरी छ । कोषले र्फिता पाउनुपर्ने लगानी फिर्ता पाइरहेको छैन भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ । त्यसको लागि कोष मुकदर्शक बनेर होइन सार्थक पहलकदमी लिन आग्रह गर्न चाहन्छु ।’
उनले सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।