काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन पुगेका एक दर्जनजति युवायुवतीलाई समारोहस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समारोह सुरू हुनु अगाडि नै बालेनका समर्थकको चहलपहल बढिरहेको छ । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।
बालेनको फोटो अंकित टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ ।
काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार उनीहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो ।
इन्द्रजात्रा सभ्य भएर मनाउन र नाराबाजी हुल–हुज्जत गर्न नदिन उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ ।