काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।
क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् ।
भेटका क्रममा उनीहरुले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका थिए । नेपाल र क्यानाडाले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदैछन् ।
त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन् ।
साथै वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्याएको सहयोगका लागि क्यानाडा सरकारलाई धन्यवाद ज्ञापन गरिन् । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानाडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको मन्त्री डा राणाले स्मरण गरिन् ।
त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरेकी छन् । उनले भनिन् “अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ । त्यसैले क्यानाडाले नेपालमा दूताबास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।”
उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर सोचिदिन विदेशमन्त्री जोलीसमक्ष आग्रह गरिन् ।
अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन् ।
जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न आग्रहर गरिन् ।
नेपाल र क्यानाडाबीच कैयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरुमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनार्थ गरिएका कामहरु, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानाडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताइन् ।
नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठूलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कैयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहेको बताइन् ।
उनलेले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरेहकामा ६०८ जना महिला रहेको जानकारी दिइन् ।
आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने वार्तामा सहमति भएको थियो । साथै आगामी बर्ष मनाइने नेपाल क्यानाडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ बर्षगाँठका दौरानमा यी समझ्दारीमा हस्ताक्षर हुनेगरी काम गरिने सहमति पनि वार्तामा भएको छ ।
नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि भएको छ ।
सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानाडाली विदेशमन्त्री जोलीले आग्रह गरेकी थिइन् । उनले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गरिन् ।
त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिइन् ।
हाल क्यानाडामा नेपालीहरुको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरु इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया आफूले पाएको सुनाइन् ।
उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
त्यसैगरी नेपालमा डिजीटल मार्केटिङ र इ‐गभर्नेन्सका क्षेत्रमा सहयोगका लागि मन्त्री डा राणाले गरेको प्रस्तावको स्वागत गर्दै आपसी सहयोगका साथ अघि बढ्ने प्रतिक्रिया क्यानाडाली विदेशमन्त्री जोलीले दिएकी छन् । त्यस अवसरमा मन्त्री डा राणाले क्यानाडाली विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएकी थिइन्
वार्तामा नेपालका तर्फबाट मन्त्री डा राणासहित क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेल सहभागी थिए ।