logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सीमित नगरौँ : सांसदहरु

    अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सीमित नगरौँ : सांसदहरु

    924
    Shares
    अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सीमित नगरौँ : सांसदहरु

    काठमाडौँ । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने प्रतिनिधि मण्डलको संख्या घटाउन सांसदहरूले माग गरेका छन् ।

    आइतबारको विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा बोल्दै सांसदहरूले ठुलो संख्यामा प्रतिनिधिहरू जाने तर उपलब्धि नहुने कुराको अन्त्य गर्न माग गरेका हुन् ।

    गत कोप–२८ मा समेत सय जना बढीको संख्यामा प्रतिनिधि मण्डल नेपालबाट सहभागी भएपनि उल्लेख्य प्रगति हासिल हुन नसकेको गुनासो गरे । उनीहरूले ब्राजिलमा हुने कोप–२९ सम्मेलनमा नेपालबाट प्रतिनिधिहरूको संख्या घटाइ उपलब्धिमूलक बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

    समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले कोप सम्मेलनमा धेरै ठुलो संख्या गएको तर उपलब्धि त्यत्तिकै हुन नसकेको बताए । उनले प्रत्येक वर्ष सय भन्दा बढी संख्यामा जाने गरेको र उपसचिवहरू नै १८ जना जाने गरेको भन्दै संख्या घटाउन माग गरे । उनले प्रधानमन्त्री, मन्त्री, सचिवहरू जाने भएपनि उपसचिव, जलवायु परिवर्तन महाखाका धेरै पदाधिकारी जाने गरेको भन्दै सच्याउन जरुरी रहेको बताए । सम्मेलनमा विज्ञहरू पनि धेरै लैजाने गरेको भन्दै सीमितता हुनुपर्ने बताए ।

    समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले घुम्न गएको जस्तो गरी धेरै सरकारी कर्मचारीहरु जाने कुरालाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले सरकार परिवर्तनसँगै महाशाखा र मन्त्रालयमा सो सम्बन्धित काम गर्ने सचिव/सहसचिवहरूको सरुवाले अन्तर्राष्ट्रिय फोरममा उत्कृष्ट प्रस्तुति दिन नसकिरहेको बताइन् । उनले अन्तर्राष्ट्रिय फोरममा हुने कार्यक्रमलाई रमाइलोमा सीमित गर्न नहुने बताइन् ।

    वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले कोप—२९ मा सहभागी हुनेहरुको संख्यामा गहन रुपमा सोच्नुपर्ने बताए । उनले भारत लगायतका देशहरुको संख्या हेरेर नेपालले पनि आवश्यक व्यक्तिहरूलाई मात्रै लैजानुपर्ने बताए । उनले पार्टी, अब्जरर्भर र मिडिया गरी तीन किसिमका व्यक्तिहरू सम्मेलनमा जाने गरेको भन्दै यसमा सरकारले रिभ्यु गर्नुपर्ने सुझाव दिए । उनले सम्मेलनका लागि मिडिया, एन्जिओ, विदेशीहरूले समेत सरकारी मनोनयन गरिदिन आग्रह गर्ने गरेको गुनासो गरे ।

    समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलवायु परिवर्तनका कारण वनविनाश, औद्योगीकरण, सहरीकरण बढेको बताइन् । उनले उद्योग क्षेत्र झनै धराशायी भएको भन्दै उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले उत्पादन बढाउने र नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्नसक्ने गरी विकास गर्न जरुरी रहेको बताइन् ।

    बैठकमा अन्य सांसदहरूले जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रका नागरिक र प्रतिनिधिहरूको प्रतिनिधित्व सम्मेलनमा अनिवार्य गराउन माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend