logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सांसदहरु नआएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित

    सांसदहरु नआएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित

    987
    Shares
    सांसदहरु नआएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित

    काठमाडौं । संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमबार श्रीलंकाका लागि प्रस्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

    यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

    यसअघि आईतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ । आज (सोमबार) बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलवार बिहान ९ बजे बस्ने जानकारी दिइन् ।

    उनले भनिन्, ‘आज हाम्रो सुनुवाई समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरु पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भन्नुभयो ।’

    गत बैठकमा समितिले श्रीलंकाका लागि प्रस्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । सरकारले राजदुतमा सिफारिस गरेको (भोलि) मंगलबार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदुत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुंगो लगाउनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend