logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • कुमारी बैंकमा खाता खोल्दा २६ लाखको नि:शुल्क बिमा

    कुमारी बैंकमा खाता खोल्दा २६ लाखको नि:शुल्क बिमा

    15.9K
    Shares
    कुमारी बैंकमा खाता खोल्दा २६ लाखको नि:शुल्क बिमा

    काठमाडौं । भविष्यमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै र आउन सक्ने भवितब्यले परिवारलाई पर्न सक्ने आर्थिक भारको आँकलन गरेर जीवन बिमा गर्नेहरुको संख्या नेपालमा बढ्दो छ । जीवन बिमा कम्पनीहरुले गर्ने बिमा, आर्थिक बचत र सम्भावित घटना/दुर्घटनापछि परिवारको आर्थिक सुरक्षाका लागि वार्षिक प्रिमियम तिरेर गरिन्छ ।

    तर, कुमारी बैंकले खाता खोलेकै आधारमा आफ्ना सेवाग्राहीलाई २६ लाख रुपैयाँसम्मको बिमा सुविधा दिन थालेको छ । ‘परिवार सुरक्षा बचत खाता’ नाम दिइएको उक्त खाता खोल्दा स्वतः खातावालाको २६ लाख रुपैयाँको बिमा जोखिम वहन हुनेछ । यो खाता खोल्न इच्छुक व्यक्तिले देशभर आफूलाई नजिक पर्ने बैंकको कुनै पनि शाखामा गएर सम्पर्क गर्दा यसबारे पूर्ण जानकारी पाउन र खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

    बैंकको संस्थागत तथा रिटेल बैंकिङ बिभागका प्रमुख अनिल निरौला परिवार सुरक्षा बचत खाता नेपाली बैंकिङ उद्योगकै उत्कृष्ट बचत खाता रहेको दाबी गर्छन् । सेवाग्राहीले यो खाता खोलिसकेपछि सामान्य खातामा जस्तै जति पनि कारोबार गर्न सक्छन् । त्यस्तै जे जति निक्षेप रहन्छ यसको ब्याज अन्य खाता सरह नै पाउन सकिने उनी बताउँछन् ।

    २६ लाखको जोखिम कभर

    बैंकको परिवार बचत खातामा थप लाभ (एडिसनल बेनिफिट) को रुपमा बिमाको २६ लाख रुपैयाँको प्याकेज ‘बन्डल अप’ गरिएको छ । सो प्याकेजअन्तर्गत जसले खाता खोल्छ उसको श्रीमान् वा श्रीमती र १८ वर्ष मुनिका दुई बच्चाहरुको बिमा कभर हुन्छ ।

    खातावालाको श्रीमान वा श्रीमतीले १०/१० लाख रुपैयाँ दुर्घटनाबाट निधन (एक्सिडेन्टल डेथ) र पूर्ण असक्त भएको खण्डमा त्यो १०/१० लाख रुपैयाँको हकदार हुनेछन् । त्यसै गरी दुई बच्चाका लागि दुई/दुई लाख रुपैयाँको एक्सिेडेन्टल डेथ र पूर्ण अशक्त भएको खण्डमा सोही तरिकाबाट जोखिम कभर हुन्छ ।

    त्यस्तै प्राण घातक रोग (क्रिटिकल इलनेस) भएको खण्डमा खातावालाले मात्र एक लाख रुपैयाँ पाउन सक्छन् । जसमा सरकारले प्राण घातक रोग भनेर उल्लेख गरेका रोगहरु पर्दछन् । अब २६ लाख रुपैयाँ मध्ये बाँकी रहेको एक लाख भने परिवार बचत खाताको आकर्षण केन्द्रविन्दु रहेको छ । जसमा मेडिकल बिमा पर्छ । बचत खाता सञ्चालन गरेकै भरमा यो सुविधा लिन सकिन्छ । यसका लागि भने २४ घण्टा अस्पताल भर्ना भएकै हुनुपर्नेछ । खातावालाले बढीमा एक लाख रुपैयाँ सम्मको उपचार सुविधा पाउन सक्छन् ।

    पहिलो पटकको दाबीमा बढीमा ५० हजार रुपैयाँ मात्र पाउन सकिने निरौलाले बताए । ‘जस्तै पहिलो पटक २० हजारको दाबी आयो भने दोस्रो पटक ८० हजार आएपनि एक लाख पाउन सकिन्छ । यस्ता सुविधा भएको सम्भवतः उद्योगकै पहिलो आकर्षित नम्बर एक बचत खाता मध्ये यो एक हो’ उनले सुनौलो नेपालसँग भने ।

    बिमा भन्दा के फरक ?

    परिवार सुरक्षा वचत खाता ठ्याक्कै बिमा जस्तै हो भन्न मिल्दैन । बिमा कम्पनी भनेको ‘प्राइमरी प्रोडक्ट’ हो । तोकिएको अवधिसम्ममा बिमितले बिमा शुल्क बुझाउँछ । बिमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बिमांङक रकम र बोनस प्राप्त गर्छ । बिमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमाङक रकम र सो अवधिसम्म भुक्तान भएको बिमा शुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ ।

    तर, बैंकको यो प्रोडक्टमा कुनै पनि बिमा शुल्क बुझाउन पर्दैैन । तर, बैंकको करार अवधिसम्म खातावालाको मृत्यु भएमा अघि उल्लेख गरेको २६ लाख रुपैयाँको जुन ‘ब्रेक डाउन’ छ, त्यसमा श्रीमान् वा श्रीमतीले १०/१० लाख दुई बच्चाका लागि दुई/दुई लाख रुपैयाँको एक्सिेडेन्टल डेथ र पूर्ण अशक्त भएको खण्डमा सोही तरिकाबाट इच्छाएको वा हकवालाले प्राप्त गर्न सक्छन् ।

    यसमा बचत नगरेको र वार्षिक बिमा शुल्क नतिरेको हुनाले बिमाको जस्तो पैसा फिर्ता भने आउँदैन । बिमा कम्पनीले जस्तै सिमित अवधिका लागि खातावालाको प्रिमियम बचतकर्ताको तर्फबाट बैंकले भुक्तानी गर्छ । कम्पनीमा व्यक्तिले तिर्नुपर्ने प्रिमियम बचत खाता सञ्चालन गरेबापत बैंकले भुक्तानी गरिदिन्छ । एउटा इमान्दार उपभोक्ता जसले बैंकमा कारोबार गर्छ, उनीहरुलाई खुसी बनाएर बैंकप्रति आकर्षण गराउनु बैंकको उद्धेश्य भएको उनले सुनाए ।

    बैंकले कसरी व्यवस्थापन गर्छ ?

    खातावालाको दुर्घटना भएको खण्डमा बैंकले आफैं बिमा दाबी तिर्दैन । त्यसको लागि बैंकले बिमा कम्पनीसँग सहकार्य गरेर रि–इन्स्युरेन्स खरिद गरेको हुन्छ, त्यो खातावालालाई थाहा हुँदैन । यो बैंक र बिमा कम्पनीबीच सम्झौता हो । जति दाबी आए पनि बैंकले सोही अनुसार प्रिमियम खरिद गरेको हुन्छ ।

    यस अर्थमा बैंकलाई जोखिम हुँदैन । वचतकर्तालाई पनि यहाँ धेरै सुविधाहरु छ । जस्तो कोही एक जना वचतकर्ताले अन्य बिमा कम्पनीमा स्वास्थ्य बिमा पोलिसी किन्यो भने उसले प्राण घातक रोग लागेको खण्डमा त्यसको प्रिमियम तिरेर किन्न पाउँछ । तर कुमारी बैंकको परिवार बचत खाता खोलिसकेपछि भने त्यो सुविधा पनि निःशुल्क लिन सकिने छ । यो एउटा ‘कम्बो’ सुविधा भएकाले एक्सिडेन्टल डेथ, पर्मानेन्ट टोटल डिस्याब्लिटी, क्रिटिकल इलनेश, मेडिकलसहितको सुविधा पाउन सकिन्छ ।

    १२ करोड बढी भुक्तानी

    बैंकले परिवार सुरक्षा बचत खाता सञ्चालन गरेदेखि आजसम्मको समयमा ८ हजारभन्दा बढी ग्राहकहरुलाई १२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । त्यसै गरी गत आर्थिक वर्षमा मात्रै पनि बैंकले ३५ सय जनालाई साढे तीन करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेको थियो । त्यसैले पनि यो ‘प्रोडक्ट’लाई उत्कृष्ट र लाभदायक भनेर बैंकले दाबी गरेको छ ।

    बैकका अनुसार परिवार सुरक्षा बचत खाताको बारेमा बैंकले त्यतिधेरै प्रचार भने गरेको छैन तर पनि कुमारी बैंकमा अहिलेसम्म यो खाता खोल्ने सेवाग्राही करिब ६० हजारभन्दा बढी भैसकेका छन् । विगत ६ वर्षदेखि कुमारी बैंकले सञ्चालन गरेको यो स्किम लाईफ टाइम भने होइन । ग्राहकको आकर्षण बढेकोले बैंक यसलाई निरन्तरता दिने दीर्घकालीन सोचमा छ ।

    अझै केही वर्ष मज्जाले निरन्तर रुपमा सञ्चालन हुने बैंकको दाबी छ । यदि यो बन्द गर्नुपर्ने अवस्था आए सम्पूर्ण माध्यममा सूचना निकालेर नै उपभोक्ताहरुलाई जानकारी दिइने संस्थागत तथा रिटेल बैंकिङ विभागका प्रमुख निरौलाले बताएका छन् ।

    खाता खोल्न र दाबी लिन के गर्ने ?

    कुमारीले परिवार सुरक्षा बचत खाता खोल्न न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । यो उपभोक्ताहरुको न्यूनतम ब्यालेन्स मात्र हो । कुनै शुल्क वा किस्ता होइन । किनकी यो १० हजार रुपैयाँको बचतकर्ताले ब्याज पनि पाइरहेकै हुन्छन् । खाता बन्द गरेर जाँदा पनि त्यो सबै पैसा फिर्ता लिएर जान पाइन्छ ।

    त्यो १० हजार रुपैयाँ न्युनतम ब्यालेन्समा खाता खोलेको व्यक्ति बिरामी भएमा मेडिकल बिमाका लागि अस्पताल भर्ना भएर २४ घण्टा बसेको प्रमाण र खर्च भएको बिलसहित ३० दिन भित्र बैंकको कुनै पनि शाखामा गएर दाबी गर्न सक्नेछन् ।

    त्यसै गरी एक्सिडेन्टल डेथ र क्रिटिकल इलनेसको दाबी अवधि एक सय ८३ दिन (६ महिना) तोकिएको छ । त्यो समयभित्र बैंकको कुनै पनि शाखामा गएर निवेदन दिनुपर्ने हुन्छ । बैंकले लामो समयावधि दिएर दुःखमा परेका ग्राहकहरुलाई दावी भुक्तानी लिन सहज बनाइदिएको छ ।

    यसको अर्को आकर्षक पक्ष भनेको यो योजना अन्तर्गत खाता सञ्चालन गरेका ग्राहकले डेविट कार्ड पाउँछन् । यो कार्डले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम टर्मिनलबाट पैसा झिक्दा थप शुल्क तिर्नुपर्दैन ।

    बैंकले परिवार सुरक्षा बचत खाताको अलवा पनि अरु डिजिटल कारोबार गर्न चाहनेलाई शून्य बचतमा खाता खोलेर कारोबार गर्ने सुविधा पनि दिएको छ । त्यस्तै पाँच सय र एक हजार रुपैयाँमा खाता खोल्न चाहनेका लागि त्यो सुविधा पनि उपलब्ध छन् । तिनीहरुमा पनि सक्दो फिचरहरुको सुविधा पाउन सकिने निरौला बताउँछन् ।

    २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारीले अनवरतरुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend