logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन

    ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन

    252
    Shares
    ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन

    फुङ्लिङ (ताप्लेजुङ) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको छ । चाडपर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

    दशैँ, तिहार, नेपाल संवत्, छठ, चासोक तङ्नाम, ल्होसारलगायत चाडपर्वलाई ध्यानमा राखी माघ २ गतेसम्मका लागि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री सुरु गरिएको कम्पनीकी प्रबन्धक सुधा थापा खत्रीले जानकारी दिइन् ।

    उनका अनुसार स्टिम जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट गरिएको छ । योसँगै स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ९४ रुपैयाँबाट घटाएर ८९ रुपैयाँ तोकिएको छ । २५ किलोको एक प्याकेट जिरा मसिनो चामल दुई हजार दुई सय २५ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

    सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६५ रुपैयाँबाट घटाएर ६० रुपैयाँ तोकिएको छ । जसअनुसार २५ किलोको मन्सुली चामलको प्याकेटलाई एक हजार पाँच सय रुपैयाँ पर्नेछ ।

    खाद्य कम्पनीका अनुसार हाल ३४२ दशमलव पाँच क्विन्टल स्टिम जिरा मसिनो र एक सय ४१ दशमलव पाँच क्विन्टल सोना मन्सुली चामल मौज्दात छ । ताप्लेजुङ कारागारमा सिदाबापत आवश्यक चामलका लागि  कम्पनीले ६० देखि ७० क्विन्टल सुरक्षित गरी बाँकी सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।

    त्यसैगरी, भोजपुरमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेको छ । छुट मूल्यमा खाद्य सामाग्री बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोषकुमार साहले जानकारी दिए । प्रमुख साहका अनुसार उपभोक्ताले विगतको तुलनामा प्रतिकिलो रु पाँच छुट पाउनेछन् ।

    प्रमुख साहले भने, “हामीसँग खाद्यान्न मौज्दात रहेकाले यस वर्ष चाडपर्वमा विगतमा जस्तै खाद्यान्न अभाव हुँदैन ।” यहाँ हाल स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल गरी छ सय क्विन्टल चामल मौज्दात छ ।

    छुट मूल्यअनुसार स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ८५ र अरुवा सोना मन्सुली चामल प्रतिकेजीे ६० रुपैयाँमा पाइने जनाइएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विगतमा जस्तो खाद्यान्न लिन आउँदा लाइन बस्नुपर्ने बाध्यता नरहेको र चाडपर्व लक्षित सुपथ मुल्य पसलले भोजपुरवासीलाई सुविधा पुग्ने बताए ।

    नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतका उपस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल शुभारम्भ गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend