logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    माथिल्लो कर्णाली आयोजनाको सेयर सतलज र इरेडालाई बेचेपछि जिएमआर पुग्यो लगानी बोर्ड

    माथिल्लो कर्णाली आयोजनाको सेयर सतलज र इरेडालाई बेचेपछि जिएमआर पुग्यो लगानी बोर्ड

    784
    Shares
    माथिल्लो कर्णाली आयोजनाको सेयर सतलज र इरेडालाई बेचेपछि जिएमआर पुग्यो लगानी बोर्ड

    काठमाडौं । भारतको जिएमआर इनर्जी लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन सेयर संरचना परिवर्तनको प्रस्ताव लगानी बोर्डमा पेश गरेको छ । जिएमआरले केही दिनअघि लगानी बोर्डमा प्रस्ताव पेश गरेको हो ।

    दुई साताअघि जिएमआरले भारतको नयाँ दिल्लीमा सतलज जलविद्युत निगम लिमिटेड र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) लाई साझेदार बनाएको थियो । आयोजना बनाउने विषयमा तीन कम्पनीहरुबीच प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

    एमओयू गरेको एक सातापछि जिएमआरले लगानी जुटाउन साझेदार भित्र्याएको जानकारी बोर्डलाई गराएको हो । जिएमआरले लगानी जुटाउन नयाँ साझेदार भित्र्याएको लिखित जानकारी गराएको लगानी बोर्डका प्रवत्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले सुनौलो नेपाललाई बताए ।

    उनका अनुसार जिएमआर र सतलजको बराबर अर्थात ३४/३४, नेपाल विद्युत प्राधिकरणको २७ र इरेडाको ५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाएको विवरण जिएमआरले पेश छ । सतलजसँग बराबर स्वामित्व भएकाले आयोजनामा बहुमत सेयर जिएमआरको हुनुपर्ने भनेको बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिए । उनले सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पिडिए) प्रावधानअनुसार बहुमत स्वामित्व जिएमआरको हुनुपर्नेछ ।

    आयोजना बनाउन लगानी जुटाउन नसकेपछि साझेदार खोजेको जिएमआरले जानकारी दिएको उनले सुनाए । जिएमआरको माथिल्लो कर्णालीको समय ६ महिना पनि बाँकी छैन् । १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने पिडिएमा उल्लेख छ ।

    लगानी बोर्डले विज्ञहरुसँग सुझाव लिएर स्वीकृतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा जिएमआरको प्रस्ताव पेश हुने भएको छ । माथिल्लो कर्णाली आयोजना बनाउन जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ ।

    जिएमआरको म्याद थप समय ६ महिना बाँकी रहँदा नयाँ लगानीकर्ता भित्र्याएको हो । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । पहिला ३ सय ९ मेगावाटको भए पनि पछि जिएमआरले क्षमता बढाएर ९ सय मेगावाट बनाएको हो । आयोजना बनाउन १ खर्ब ४० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।

    प्रतिस्पर्धाका क्रममा जिएमआरले निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको थियो ।

    सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जिएमआर र लगानी बोर्ड नेपालबीच पिडिएमा हस्ताक्षर भएको थियो । सोही बेला अरुण तेस्रो बनाउने विषयमा सतलज र बोर्डबीच सोही समयमा पिडिए भएको थियो ।

    आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको छैन् । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको छ । सतलजले ९ सय मेगावाटको अरुण तेस्रोको काम ७० प्रतिशत सकेको छ । यस्तै उसले ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजना पनि बनाउन लाइसेन्स पाइसकेको छ । उसले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ ।

    जिएमआरको म्याद अन्तिम पटक

    जीएमआरसँग वित्तीय स्रोत जुटाउन ६ महिना पनि छैन । गत वर्ष साउन १० गतेको मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि सर्वोच्च अदालतमा मुद्दा परेपछि जारी अन्तरिम आदेशका कारण गुमेको ६ महिना मात्रै दिएको छ ।

    सर्वोच्च अदालतले समय नथप्न आदेश दिइसकेको छ । यदी बाँकी ६ महिनाभित्र लगानी जुटाउन नसके आयोजना खोसिने भएको छ । सरकारले २०७९ असार ३१ मा आयोजनाको वित्तीय व्यवस्थापनका लागि २ वर्ष म्याद थपेको थियो । बोर्डको म्याद थपको निर्णयलाई लिएर सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले ०७९ कात्तिक १७ मा उक्त रिटमाथि सुनुवाइ गर्दै म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    त्यसपछि दायर भएको रिटमा २०८० वैशाख २४ मा सर्वोच्चको संवैधानिक इजलासले फेरि म्याद नथप्न मन्त्रिपरिषद्लाई निर्देशनात्मक आदेश दिएको थियो । समयसीमाको जानकारी गत साउन २७ गते पत्र पठाएर जानकारी दिएको लगानी बोर्डले जनाएको छ ।

    सरकार र जिएमआरबीच ०६५ सालमा आयोजना निर्माणका लागि एमओयू भएको थियो । ०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, ०६८ को प्रावधानअनुसार माथिल्लो कर्णालीलाई बोर्डको मातहत राखिएको हो ।

    यो पनि :

    सतलज र इरेडाको प्रवेशले १६ वर्षदेखि जिएमआरले बन्धक बनाएको माथिल्लो कर्णाली आयोजना बन्ला ?

    माथिल्लो कर्णालीमा भारतको जिएमआरले नयाँ लगानीकर्ता भित्र्याउँदै, इरेडासँग गर्यो सम्झौता

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend