logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक, दिउँसो १ बजे बैठक बस्दै

    कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक, दिउँसो १ बजे बैठक बस्दै

    728
    Shares
    कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक, दिउँसो १ बजे बैठक बस्दै

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

    मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

    अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् ।

    मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend