logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

    मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

    315
    Shares
    मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

    बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक १४ लाख रुपैयाँ नाफा हुने गरेको बताइन् ।

    एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन् । उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा परिचित छिन् । नन्दकला आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताउँछिन् ।

    उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छन् । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राखिन् । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

    “स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भनिन्, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाइन् । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन् ।

    एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन् । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ ।

    “समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भनिन्, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले बताइन् ।

    एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः छ सय, सात सय र आठ सय रुपैयाँ पर्ने जानकारी दिइन् । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ ।

    सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसाय सुरु गरेकी नन्दकलाले अहिले करिब २० लाख रुपैयाँको मह बिक्री गर्ने गरेको बताइन् । सबै खर्च कटाएर वार्षिक १४ लाख रुपैयाँ नाफा हुने गरेको उनले जानकारी दिइन् ।

    महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन् । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पु¥याउन नै सकिएको छैन”, उनले भनिन् ।

    नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताइन् । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend