logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नेपालको बिजुली अब तेस्रो मुलुकमा, नेपाल, भारत र बंगलादेशीबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

    नेपालको बिजुली अब तेस्रो मुलुकमा, नेपाल, भारत र बंगलादेशीबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

    665
    Shares
    नेपालको बिजुली अब तेस्रो मुलुकमा, नेपाल, भारत र बंगलादेशीबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

    काठमाडौँ । लामो गृहकार्य र छलफलपछि नेपालको बिजुली भारत हुँदै बंगलादेश जाने भएको छ । भारतपछि पहिलो पटक नेपालको बिजुली तेस्रो मुलुक निर्यात गर्न सम्झौता भएको छ ।  बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो ।

    नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगम (एनभिभिएन) बीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।

    आज आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरेका छन् ।

    समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिती थियो ।

    पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ । विद्युत खरिद बिक्री व्यापार सम्झौता पाँच वर्षका लागि हुने भएको हो । नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४ सेन्ट डलरमा बिजुली बेच्ने छ । यस्तै बिजुली दलाली शुल्क भारु ६ पैसा एनभिभिएनले लिने छ ।

    प्राधिकरणले २२ मेगावाटको चिलिमे र २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजनाको बिजुली बंगलादेशलाई बेच्ने छ । नेपाल विद्युत प्राधिकरणका अनुसार वर्षायाममा बंगलादेशलाई बिजुली बिक्री गरेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने छ ।

    बंगलादेश, नेपाल र भारतबीच ऊर्जा सहयोगसम्बन्धी समझदारी (एमओयू) भएको छ वर्षपछि नेपालबाट भारत हुँदै ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर हुन लागेको हो । नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा हस्ताक्षर भइसकेको छ । २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्य मन्त्री नसरुल हमिदबीच विद्युत क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुवात गर्ने प्रयोजनाका लागि समझदारीमा हस्ताक्षर भएको थियो ।

    प्रसारण लाइनको प्राविधिक चुहावट भने ढल्केबर–मुजफ्फपुरबीचको विद्युत प्राधिकरणले नै व्योहोर्नेछ । प्राधिकरणले भारतीय कम्पनी एनभिभिएन विद्युत व्यापार कम्पनीलाई बिजुली उपलब्ध गराउनेछ । सोही कम्पनीले नेपाली बिजुली बंगलादेश पुर्याउनेछ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।

    भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जानेछ । पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । बंगलादेश सरकारले आगामी सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

    भारतको जिएमआर इनर्जी लिमिटेडले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली खरिद बिक्रीका लागि बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गरिसकेको छ । इन्डियन इनर्जी डेभलपमेन्ट एजेन्सी र सतलज जलविद्युत निगमको प्रवेशपछि माथिल्लो कर्णाली बन्ने संभावना बढेको छ ।

    यस्तै, छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend