logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सौराहामा दशैंको टीका र जमरा थाप्दा पर्यटकहरु दङ्ग

    सौराहामा दशैंको टीका र जमरा थाप्दा पर्यटकहरु दङ्ग

    420
    Shares
    सौराहामा दशैंको टीका र जमरा थाप्दा पर्यटकहरु  दङ्ग

    चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ मनाएका छन् । नेपालीहरूको महान् चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

    सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक ध्रुव गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिए । साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरू दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए ।

    मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । “नेपाली नागरिक आत्मीय, मित्रवत् छन्, नेपाल सुन्दर छ”, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, “नेपालीहरूका साथमा दसैँ मनाउन पाउँदा खुसी छु ।

    नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरूको पर्व दसैँ मनाउन पाउँदा औधी खुसी देखिन्थे । “मैले अरू साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ”, उनले भने ।

    अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन् । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, उनले भनिन् ।

    चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरु भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । “हामीले विगतमा पनि यसरी पर्यटकहरूलाई दसैँमा सँगै राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भने ।

    पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भने । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend