logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, कहिलेसम्म लगाइन्छ दसैँको टीका ?

    मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, कहिलेसम्म लगाइन्छ दसैँको टीका ?

    364
    Shares
    मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, कहिलेसम्म लगाइन्छ दसैँको टीका ?

    काठमाडौँ । दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।

    आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

    कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउन क्रम राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका र जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ ।

    यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम मानिस काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा बढी चहलपहल देखिएको हो ।

    महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा कम चहलपहल देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले बढी चहलपहल देखिन्छ ।

    राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन पनि कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाको अनुभव छ । टीकाथलीमा आफन्त कहाँ जान लागेका मङ्गलबहादुर श्रेष्ठ यो वर्ष सहजै सवारी पाइएको सुनाउँछन् । सवारीले स्टेशन नै पिच्छे पाँच/सात मिनेट रोकेर भने ढिला गरेको उनले सुनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend