logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • भूइँबाट उठेका गायक दुर्गेश थापा

    भूइँबाट उठेका गायक दुर्गेश थापा

    910
    Shares
    भूइँबाट उठेका गायक दुर्गेश थापा

    कास्की । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भनेका थिए, “अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।”

    उनले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोर्‍याएका थिए । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा थापााले गरेको आत्मसमीक्षाले उनको कलाकारितालाई के नयाँ मोड दिनसक्छ ? “उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ”, ३७ वर्षीय थापाले भने, “सुरुआत र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्क ढङ्गले दर्शक/स्रोतमाझ आउन खोजिरहेको छु ।”

    अठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजारेका उनी सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन् । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन् । २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उनी अभिनय हुँदै गायनतिर डोरिए ।

    गायक दुर्गेश थापा पक्राउ - SangaloKhabar

    गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका उनको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । “अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, थापाले भने, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रुपमा म उहाँलाई आदर गर्छु ।” बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने थियो । थापाले त्यसका लागि प्रयास नगरेको पनि होइन ।

    विद्यालय तहको पढाइ सकेर उनी भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुगे । त्योबेला माइलाबुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर उनी केही वर्ष बनारसमै बसे । तर केही समयपछि लाहूरेको सपना त्यागेर उनी घर फर्किए । घरमा आएपछि अरु कुरा नसोची उनी काठमाडौँ हानिए । गलकोट, मल्ममै जन्मिएका गायक विष्णु खत्री, बसन्त थापालगायतबाट सानैदेखि प्रभावित उनले काठमाडौँमा भूइँदेखि सङ्घर्ष सुरु गर्नुपर्‍यो । कहिले चलचित्रमा कोरस नाचे त कहिले डान्सबारमा । नृत्य र अभिनय प्रशिक्षणका अलवा उनी विस्तारै अनुभवले पनि खारिँदै जान थाले।

    विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए । “गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो”, ठट्यौली शैलीमा उनले भने । गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उनले सम्झिए । पछि गायक समेत बनेका उनले पूर्णकला बिसीसँग मिलेर पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाए ।

    त्यसअघि उनले ‘आफू हाँसे संसार हसाउँछ…’, ‘नघाम लाउनी, न पानी पर्नी…’लगायत गीतमा शब्द र सङ्गीत भरिसकेका थिए । त्योबेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो गरे । थापाले हालसम्म ४५ गीतमा स्वर दिएका छन् भने १५ सयबढी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनी म्युजिक भिडियोमा अहिले पनि चल्तीको मोडल हुन् । रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो…’ गीतको म्यूजिक भिडियोबाट थापा मोडलका रुपमा बढी चिनिन थालेका हुन् ।

    थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौ..’लगायत उनीद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो…’मा नृत्य तथा अभिनय गरेका थिए ।

    “सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ”, गायक थापाले भने “यसको श्रेय म मेरो अभिभावक र दर्शक/श्रोतालाई दिन चाहान्छु ।” काठमाडौँ जस्तो सपनाको सहरमा उनलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उनले बाधाहरु सजिलै छेके, रोके र पहिल्याए आफ्नो सत्मार्ग ।

    काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उनले बताए । डान्सबारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाले सुनाए ।

    “मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ…’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उनले भने, “त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोंच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो ।” गायनमा पनि उनको भिन्न पहिचान छ । पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ त्योबेला चर्चित बनेको थियो । जुन गीतको म्यूजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको/सुनिएको छ ।

    उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गरे । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रोमोशनल गीत गाएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत अहिले युट्युबमा चर्चित छ । सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ ।

    प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । गायकभन्दा बढी स्टेज परर्फमरका रुपमा आफूलाई चिनाउन चाहाने थापाले गीत गायकै आधारमा प्रतिबन्धसमेत झेल्नुपर्‍यो । केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    पल - गायिका प्रकरणमा के भन्छन् दुर्गेश थापा ? (अडियोसहित) - Tesro Ankha

    तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार…’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो । “निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोता/दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ”, उनले भने । चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गरेका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचेजसरी अगाडि बढाउन सकेका छैनन् ।

    अभिनय सँगसँगै गायनमा लागेपछि उनले साङ्गीतिक यात्राका क्रममा देशदेशावर घुम्ने अवसर पाए । अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका छन् । देशभित्रका मेला/महोत्सवमा पनि उनलाई भ्याइनभ्याइ हुने गरेको छ । उनलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend