logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

    यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

    455
    Shares
    यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित आर्थिक स्थितिसहितको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो ।

    चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो ।

    राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।

    वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ भने गैर खाद्य अर्थात् सेवा समूहको मूल्य वृद्धि ३.१९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७७ प्रतिशत र सेवा समूहको ७.१९ प्रतिशत थियो ।

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति २१५२ अर्ब ५३ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ । नेपाल सरकारको खर्च १३७ अर्ब ५५ करोड रुपैयाँ र राजस्व परिचालन १६६ अर्ब ३९ करोड रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ । शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो ।

    शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

    दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

    देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति :

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend