काठमाडौँ । पहिलो टी-२०आई खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ ।
अमेरिकाको ग्रान्ड पिएरे मैदानमा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा १ सय ६४ रन बनाउँदै ९ विकेट गुमाएको थियो ।
नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।
गुल्सन झा, करण केसी र रिजन ढकालले एक-एक विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् ।
आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।
अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए ।