काठमाडौैँ । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । आज बिहान उनको निधन भएको हो ।
उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न रहेका मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने बताइएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको निधनले नेपालको आधुनिक पर्यटन इतिहासको एक महत्त्वपूर्ण अध्यायको समाप्ति भएको छ।
उनले मुलुकको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा डोर्याउँदै आएका थिए ।