logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • बागलुङबाट ३८ लाखको छुर्पी अमेरिका निर्यात

    बागलुङबाट ३८ लाखको छुर्पी अमेरिका निर्यात

    105
    Shares
    बागलुङबाट ३८ लाखको छुर्पी अमेरिका निर्यात

    बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

    वार्षिक आठ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैयाँको छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भने ।

    दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाख रुपैयाँको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।

    हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए ।

    कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend