logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोशी सरकारले माघमा लगानी सम्मेलन गर्दै, ३ करोड बजेट विनियोजन

    कोशी सरकारले माघमा लगानी सम्मेलन गर्दै, ३ करोड बजेट विनियोजन

    238
    Shares
    कोशी सरकारले माघमा लगानी सम्मेलन गर्दै, ३ करोड बजेट विनियोजन

    विराटनगर कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने निर्णयसहित सरकार अगाडि बढेको छ ।

    कोशी प्रदेश सरकारको असोज १३ गते बसेको मन्त्रीपरिषद् बैठकले लगानी सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको थियो ।

    प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न लगानी सम्मेलन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश लगानी प्राधिकरणले आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरु तय गर्ने जनाइएको छ ।

    प्रदेश सरकारले लगानी सम्मेलनका लागि बजेट विनियोजन गरिसकेको छ । सरकारले सम्मेलनका लागि करिब ३ करोड बजेट छुट्याएको छ ।

    लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरुलाई आमन्त्रण गरिने छ । प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्नेछ । साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।

    पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मासात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रुपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए ।

    सम्मेलनको तयारी सुरु

    कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको छ । गत असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरेको सरकारले अहिले निजी क्षेत्रका उद्योगि व्यवसायिहरुसँग छलफल गरिरहेको छ । असोज १८ गते आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको थियो ।

    कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ । यसमा प्रदेशका मन्त्रीहरु, निजी क्षेत्रका अगुवाहरु र संघसंस्थालाई समेटिएको छ । त्यस्तै सरकारले लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत गरेको छ ।

    कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ ।

    प्रदेशमा लगानी सम्मेलनको तयारीका लागि योजनाहरु बनाउने र परियोजनाहरुको तयारी गर्ने तथा त्यसलाई लगानीकर्तामाझ पुर्याउने योजना ल्याउने गरी समितिले काम गरिने जनाइएको छ ।

    लगानी सम्मेलनको बैठकमा सहभागिहरुले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नुपर्ने र भारतीय उद्योगपतिहरुलाई पनि आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने तथा कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नुपर्ने सुझाव दिएका थिए ।

    कोशी प्रदेश सरकारले यस बर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो सोही अनुसार तयारी सुरु गरेको हो ।

    प्रदेशको संवृद्धिको लागि लगानी सम्मेलन : मुख्यमन्त्री

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको संवृद्धिको लागि लगानी सम्मेलन गर्न लागिएको बताएका छन् । कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नुपर्ने अवस्था रहेको बताए । उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौं चुनौति छन्, पिपलको बोट उम्रिएजस्तै चुनौतिलार्ई पार गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

    उनले भने, ‘एउटा पिपल त अनेक अफ्ट्यारोमा पनि उम्रिन्छ भने हामी सबैले संवृद्धिका लागि संकल्प गर्यौं भने लगानी सम्मेलन सफल पार्छाँै ।’ उनले कानुनी जटिलताहरुलाई सहजिकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend