logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • खानेपानीमन्त्री प्रदीप यादवले गरेका एक सय दिनका कामहरु सार्वजनिक

    खानेपानीमन्त्री प्रदीप यादवले गरेका एक सय दिनका कामहरु सार्वजनिक

    126
    Shares
    खानेपानीमन्त्री प्रदीप यादवले गरेका एक सय दिनका कामहरु सार्वजनिक

    काठमाडौँ । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो एक सय दिनको कार्यकालका उपलब्धिहरू आज सार्वजनिक गर्नु हुँदै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताउनुभएको छ ।

    मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी गत असार ३१ गते पदभार ग्रहण गरेपछि आफुले मेलम्ची आयोजना पुनस् सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुर्नस्थापनासम्मका कार्यहरूमा विशेष ध्यान दिइएको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको दाबी गर्नुभयो ।

    बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोट अनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुन: सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताउनुभयो । “यसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ,” उहाँले भन्नुभयो, “मेलम्ची आयोजनाको पुनस् सञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र संघर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।”

    प्रत्यक्ष जनसंवाद र सहकार्यको प्रयासले काठमाडौँ उपत्यकाको खानेपानी संकट कम गर्न महत्त्वपूर्ण पुगेको उहाँले बताउनुभयो । मन्त्री यादवले आफ्नो सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाउनु भएको थियो । उहाँले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन समेत निर्देशन दिनुभएको थियो ।

    “स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो,” मन्त्री यादवले भन्नुभयो । उहाँको निरीक्षणको क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजनाहरू अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ । पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले बताउनुभयो ।

    “जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भन्नुभयो । त्यसै गरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको उहाँले दाबी गर्नुभयो । तर, असोज महिनामा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए ।

    मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।”

    मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको पनि मन्त्री यादवले बताउनुभयो । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले आठ सय मिलिमिटर पाइपलाइनमा क्षति पुर्‍याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।
    यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लाहरूमा २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू सञ्चालनमा ल्याएको छ । यी आयोजनाहरू विभिन्न चरणमा रहेका छन्, जसमा पुरानो योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका कामहरू समावेश छन् । मन्त्रालयले यी परियोजनाहरूलाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताउनुभयो ।

    परियोजनाहरूको सफल कार्यान्वयनले करिब १५ लाख मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    गत असोजमा आएको अविरल वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले पाँच सय २५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्रालयले ती आयोजनाहरूको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुर्नस्थापना प्रक्रिया सुरु गरिसकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा अस्थायी पाइपलाइनहरू मार्फत पानी आपूर्ति गरिएको छ भने क्लोरीन वितरण गरेर स्वच्छ पानी सुनिश्चितता गराइएको छ । यससँगै, मन्त्रालयले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।” यस्तै मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रे र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।

    मन्त्री यादवले भन्नुभयो, “स्थानीय सरकारहरूसँग सहकार्य गरी समस्या समाधान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ ।” उहाँले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुर्नस्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । मन्त्रालयले देशभरिका विभिन्न क्षेत्रहरूमा आयोजना सञ्चालन गरी स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको मन्त्री यादवले बताउनुभयो ।

    “पोखरामा खानेपानी सुधार आयोजना मार्फत ४८ हजार पाँच सय जनसङ्ख्यालाई, विराटनगरमा ४५ हजार नौँ सय ८७ जनसङ्ख्यालाई, र झापाको बेलडाँगीमा २३ हजार सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ । यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाहरूको निर्माण कार्य सुरु भइसकेको छ,उहाँको भनाई थियो ।

    मन्त्री यादवको सय दिने कार्यकालमा देखिएको परिवर्तनले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको र मन्त्रालयको कामलाई सजगता, पारदर्शिता र गतिका साथ अघि बढाएको भन्दै जनताले खुलेर प्रशङ्सा गरेको मन्त्री यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको प्राथमिकता भनेको नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने हो । हामी जनअपेक्षाअनुसार काम गरिरहेका छौँ ।”

    जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।” आजको उक्त पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले मन्त्री यादवको सक्रिय अनुगमन र समन्वयले सेवा प्रभावकारी बनाएको एवं मन्त्रालयको कार्यसम्पादनमा गति आएको बताउनुभयो ।

    उहाँले मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग र जनसमुदायसँगको संवादबाट नीतिहरूको प्रभावकारिता बढाएको जानकारी दिनुभयो । विश्लेषकहरूका अनुसार मन्त्री यादवको नेतृत्वमा मन्त्रालयले आयोजना कार्यान्वयनमा गति मात्र दिएको छैन, जनतासँगको सहकार्य र समस्याप्रति संवेदनशीलता पनि देखाएको छ । उनीहरूले मन्त्री यादवको स्थलगत निरीक्षण र जनसंवादलाई मन्त्रालयको सफलताको कडी मानेका छन् ।

    “प्रदीप यादवजीले परिणाममुखी र जिम्मेवार नेतृत्व प्रस्तुत गर्दै मन्त्रालयलाई नयाँ उचाइमा पुरÞ्याउन सफल हुनु भएको छ,” एक विश्लेषकले टिप्पणी गर्नुभयो । “मैले यो सय दिनमा जनताको अपेक्षा पूरा गर्ने प्रयास गरेको छु,” मन्त्री यादवले भन्नुभयो, “आगामी दिनमा थप ठूला योजनाहरू कार्यान्वयन गर्दै देशभर खानेपानी सेवा सुधार्ने लक्ष्य लिएका छौँ । जनतासँगको सहकार्य र विश्वास हाम्रो प्रेरणा हो ।” मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।

    मन्त्री यादवले मन्त्रालयदेखि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र प्रतिनिधिहरूसँगै सचिवालयले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको कार्यसम्पादन सम्झौता अनुरूप एक सय दिन भित्र गरिनुपर्ने कामहरूमध्ये अधिकांश गर्न सफल भएको बताउनुभयो ।

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र वन तथा वातावरण मन्त्री हुँदा पनि मन्त्री यादवले उल्लेखनीय काम गर्नुभएको छ । उहाँ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ र उहाँले यसअघि गरेको कामकै कारण जनताले दोस्रो कार्यकालका लागि उहाँलाई प्रतिनिधिसभा सदस्य बनाएर पठाएका छन् ।

    मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend