logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

    विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

    546
    Shares
    विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

    विराटनगर । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

    विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले बुधबार उद्घाटन गरेका छन् । मेयर कोइरालाले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताए । सेवा केन्द्र सञ्चालनमा आएकोमा मेयर कोइरालाले खुसी व्यक्त गरे ।

    ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भने, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ । यस कार्यमा संलग्न सबैप्रति आभार व्यक्त गर्दछु ।’

    करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘महानगर अटिजम सेवा केन्द्र’का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको कोइरालाले सुनाए । महानगरले जग्गाको खोजी गरिरहेको समेत उनले जानकारी दिए ।

    अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले जानकारी दिए ।

    यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा ५ बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।

    महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ । केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिए ।

    उद्घाटन समारोहमा उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपक सापकोटा, जिल्ला स्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत शेखर यादव, महानगर शिक्षा समितिका सदस्य सन्तोष पोखरेल, अटिज्म केन्द्रकी संयोजक रश्मी निरौला, स्वास्थ्य महाशाखाकी अधिकृत मीना अधिकारीलगायतले अटिज्म भएका बालबालिकाहरूको उपचार, पठनपाठनका साथै रेखदेखमा महानगर र अभिभावकको दायित्व बराबरी भएकोमा जोड दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend