बीबीसी । बङ्गालको खाडीमा विकसित चक्रवात दाना ओडिसा को तटीय क्षेत्रमा बज्रिन थालेको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अधिकारीहरूले यो प्रक्रिया ओडिसा को तटीय क्षेत्रमा बज्रिन थालेको बताएका हुन् ।
आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त समुद्री आँधी विगत छ घण्टा १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको र केन्द्रपाडा जिल्लाको भीतकर्णिका र भद्रक जिल्लाको धमराको बीचमा पुगेको जनाए। त्यो बेला वायुको गति झन्डै ११० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ।
‘सिभिअर साइक्लोनिक स्टोर्म’ को वर्गमा राखिएको यो चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया दुई घण्टाजति चल्ने र त्यसपछि यो पश्चिम र पश्चिमोत्तर हुँदै उत्तर ओडिसातर्फ अघि बढ्ने अनुमान गरिएको छ।
अपराह्णतिर शक्ति क्षीण भई यो समुद्री आँधी साइक्लोनिक स्टोर्म’को वर्गमा घटुवा हुने भारतको मौसम विज्ञान विभागले जनाएको छ। भद्रकमा कतिपय ठाउँमा रूख ढलेका छन् भने सडक बन्द छ। त्यहाँ ‘रेड अलर्ट’ जारी गरिएको छ।
हावाहुरी र वर्षा
चक्रवात दानाका कारण सडकमा रूखहरू ढलेका छन् । चक्रवात दानाका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ।
दानाकै कारण ओडिशा र पश्चिम बङ्गालको तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा पनि भइरहेको छ।
ओडिशामा सुरक्षाको बन्दोबस्त
चक्रवात दानाका कारण हावाहुरी चलेको छ । दानाले भीषण रूप लिन सक्ने आशङ्कामा दुवै राज्यमा सरकारी संयन्त्रहरू उच्च सतर्कताको अवस्थामा छन्।
ओडिसाका मुख्यमन्त्री मोहन माझीले बिहीबार आफ्नो सरकार कुनै पनि परिस्थिति सामना गर्न तयार रहेको बताएका थिए। साथै उनले बाढीबाट निम्निन सक्ने प्रभाव कम गर्न पर्याप्त उपाय अपनाइएको जनाएका थिए।
ओडिसाको कुल जनसङ्ख्यामध्ये आधा यो समुद्री आँधीबाट प्रभावित हुन सक्ने ठानिएको छ।
ओडिसामा ६ लाख जनालाई सुरक्षित स्थानमा सारियो
ओडिसा सरकारले दाना प्रभावित क्षेत्रबाट सारिएका मानिसलाई राख्न ७,२०० वटा आश्रयस्थल निर्माण गरेको छ।
मुख्यमन्त्री माझीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले यो चक्रवातसँग जुझ्न भएका तयारीबारे आफूसँग जानकारी दिए।
उनका अनुसार झन्डै ५.८४ लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको र शुक्रवार बिहानसम्म यो सङ्ख्या ६ लाखभन्दा बढी पुग्न सक्छ।
हवाई र रेल यात्रा प्रभावित
कोलकातामा सुभाषचन्द्र बोस विमानस्थलमा सेवाहरू स्थगन भएका छन्। चक्रवात जमिनमा प्रवेश गर्ने चरणमा सहरमा वर्षा भएको छ भने हावाहुरी चलेको छ।
भुवनेश्वरस्थित बीजू पटनायक विमानस्थलमा पनि उडानहरू बन्द भएका छन्। त्यहाँको अम्बेडकर बस स्टेशनमा सवारीसाधनहरूलाई पनि रोकेर राखिएको छ।
भारतीय रेल सेवाले त्यस क्षेत्रमा चल्ने १५० रेल रद्द गरेको छ। दुवै राज्यका ठूला स्टेशनहरूमा यात्रीहरूको भिड छ।