काठमाडौँ । प्रदर्शनका क्रममा बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ता रिहा भएका छन् । बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा भएका हुन् ।
पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा सांसद अशोक चौधरीसहितका ५१ जना पक्राउ परेका थिए ।
बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । त्यसपछि सरकारविरुद्द रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् ।