logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम सकियो

    ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम सकियो

    455
    Shares
    ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम सकियो

    म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।

    रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

    तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

    सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले बताए ।

    तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ ।

    मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । दुईवटै आयोजना निर्माणमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।

    अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

    यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

    राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend